सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २२ साउन - क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा, सार्वजनिक सुनुवाइ तथा आगामी वर्ष आर्थिक २०८२/८३ काे प्रस्तावित बजेट र कार्यक्रम सार्वजनिक गरेको छ।
बिहीबार लमहीमा आयोजित कार्यक्रममा संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र उद्यमशीलतामा केन्द्रित गतिविधिको प्रगति प्रस्तुत गर्दै भावी योजना र प्राथमिकता सार्वजनिक गरेकाे संस्थाका कार्यक्रम संयोजक हेमराज शर्माले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यनन्द शर्माले सीपी नेपालको योगदानको प्रशंसा गर्दै चेतना अभिवृद्धि, आत्मबल विकास र सीपमूलक कार्यक्रमहरूमा संस्थाको भूमिका अतुलनीय रहेको बताउनुभयो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाका कार्यक्रमहरू रचनात्मक र प्रभावकारी रहेको उल्लेख गर्दै “एक विद्यालय, एक उद्यम” कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। साथै, पढ्दै–कमाउँदै कार्यक्रमहरू स्थानीय सरकारसँग सहकार्यमा अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो।
राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादवले सीपी नेपालले पछाडि पारिएका समुदायको जीवनस्तर सुधारमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै अतिरिक्त कक्षा र सशक्तीकरणका गतिविधिमा थप लगानी आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा गढवा गाउँपालिका–५ का वडाध्यक्ष लेखबहादुर थापा, वडा नं. ६ का वडा सदस्य दिनमणी आचार्य, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, शुभतारा इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक विकास रजौरे, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक लगायतले संस्थाका कार्यक्रमबारे सुझाव दिँदै सकारात्मक प्रभावको चर्चा गर्नुभयो।
त्यसैगरी, संस्थाबाट प्रत्यक्ष लाभ लिएका पुजा चौधरी, जानकी रोकाया र मिना चौधरीले सीपी नेपालका कार्यक्रमले आफ्नो जीवनमा ल्याएको परिवर्तनबारे अनुभव साझा गर्नुभयो।
कार्यक्रममा राप्ती, गढवा र राजपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, वडाध्यक्षहरू, शिक्षक, विद्यार्थी, महिला समूहका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यार्थी सशक्तीकरण संयोजक दीपा चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण महिला सशक्तीकरण संयोजक सरिता चौधरीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दिनेशराज सापकोटाले सबै अतिथि तथा सहभागीलाइ धन्यवाद ज्ञापन गर्नुभएकाे थियो।
संस्थाले सन् २००७ (वि.सं. २०६४) देखि दाङको गढवा, राजपुर र राप्ती गाउँपालिकामा स्थानीय निकायहरूसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, सशक्तीकरण र उद्यमशीलताको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ।