दाङका स्थानीय सरकार सुशासन प्रवद्र्धनमा सुधार गर्दै 

शुक्रबार, साउन ३०, २०८२

दाङ,२९ साउन - स्थानीय सरकारका रुपका काम गर्दै आएका दाङका १० वटै पालिकाले सुशासन प्रवद्र्धनमा क्रमिक सुधार गर्दै लगेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारको परिकल्पनाका साथ संविधानले व्यवस्था गरेअनुसार स्थानीय सरकारले काम गर्न थालेको ८ वर्ष पूरा हुँदै गर्दा सुशासन प्रवद्र्धनमा केही सुधार देखिएको छ ।

जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक समिक्षा गोष्ठीमा जिल्लास्थित १० वटै पालिकाले प्रस्तुत गरेको वार्षिक कार्य प्रगति अनुसार केही पालिकामा सुशासन प्रवद्र्धन सुधार हुन नसकेको पाईएपनि अधिकांश पालिकाले विगतको भन्दा सुधार गरेका छन् ।

विगतमा धेरै जसो सूचकमा काम नै गर्न नसकेको देखिएकोमा यो पटक भने केही सुधार पाईएको छ । तर, अझै धेरै काम गर्नुपर्ने उनीहरुले नै तयार पारेको प्रतिवेदनले औँल्याएको छ ।


जिल्लास्थित राप्ती गाउँपालिकाले सुशासन प्रवद्र्धनका लागि तोकिएका ३१ सूचकमा सबैमा काम गरेको देखाएको छ । राप्ती गाउँपालिकाले विगत आर्थिक वर्षबाटै सुशासन प्रवद्र्धनमा व्यापक सुधार गरेको छ । त्यसभन्दा अधिका वर्षहरुमा राप्ती गाउँपालिकामा सामाजिक परीक्षणलगायत थुप्रै काम हुन सकेका थिएन ।

यद्यपि, बाँकी ९ वटै पालिकामा सबै काम हुन नसकेको पाईएको छ । जसले गर्दा सुशासन प्रवद्र्धन गरेर नागरिकको सेवामा खटिने दायित्व र जिम्मेवारीका नागरिकका चासो, गुनासो, माग र आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य पूरा गर्न अझै चुनौति देखिएको छ ।

नागरिकबाट चुनिएर गएका जनप्रतिनिधिले संविधानले दिएको अख्तियारीलाई पालना गर्दै अक्षरश पालना गर्नुपर्नेमा धेरै जसो काममा ध्यान पुग्न नसकेको पाईएको छ ।।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्