सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,३१ साउन - दाङकाे दंगीशरण गाउँपालिका–७ मन्त्रीडाँडामा दोस्रो पुस्ताको बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ। नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजना, दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रगतिशील महिला समूहकी अध्यक्ष सिता बुढाथोकीले गर्नु भएको थियो भने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि रहनु भएको थियो। गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, वडा नं. ७ का वडा अध्यक्ष रेशम वली, प्रशासन शाखा प्रमुख सुदीप डाँगी लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष गिरीले कृषिमा आधारित दंगीशरण गाउँपालिकामा साना किसानको आर्थिक उन्नतिका लागि परियोजना मार्फत स्रोत र साधनको अधिकतम उपयोग गर्ने लक्ष्य रहेको बताए। उपाध्यक्ष खड्काले महिलाहरुका लागि सञ्चालन हुने लक्षित कार्यक्रमहरुको भरपुर सदुपयोग गर्न आग्रह गर्दै महिलामा इमानदारी, लगनशीलता र धैर्यता भएकाले उनीहरु सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिइन्। वडा अध्यक्ष वलीले परियोजनाले जनताको समस्या समाधान र किसानको आयआर्जनमा टेवा पुर्याएको उल्लेख गरे।
परियोजनामार्फत प्रगतिशील महिला समूहलाई पहिलो पुस्तामा ६७ वटा बाख्रा वितरण गरिएकोमा दोस्रो पुस्तामा ९१ वटा बाख्रा वितरण गरिएको हो। यसअन्तर्गत प्रगतिशील महिला समूहबाट छहरा महिला समूह कोइरालाडाँडालाई २४ वटा बाख्रा प्रदान गरिएको छ।
समूहकी सचिव सबिता केसीले प्रगति विवरण प्रस्तुत गर्दै बचत, उद्यमशीलता र आत्मनिर्भरता विकासमा समूहको भूमिकाले सदस्यहरुलाई सानो समस्यामा अरुको भर पर्नुपर्ने अवस्था हटाएको बताइन्। कार्यक्रमको स्वागत मन्तव्य समूहकी कोषाध्यक्ष सुमित्रा भण्डारीले प्रस्तुत गरेकी थिइन्।