मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

शनिबार, भदौ ७, २०८२

दाङ,७ भदाै - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुनी गतिविधि केही बढ्ने देखिन्छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्