बंगलाचुलीकी शोभा बिष्टलाई तीजको अवसरमा राहत सामग्री हस्तान्तरण

शनिबार, भदौ ७, २०८२

कमिरेचौर,७भदौ – दाङको बंगलाचुली गाउँपालिका–६ निवासी शोभा बिष्टलाई तीज पर्वको अवसर पारेर खाद्यान्न, लत्ताकपडा, जुत्ता तथा नगद सहयोग प्रदान गरिएको छ। एक महिनाअघि श्रीमान गुमाएकी बिष्टको परिवार अहिले बस्ने र खाने समस्यामा परेको थियो।

केही दिनअघि मिडियामा उनको परिवारको अवस्था सार्वजनिक भएपछि अभियन्ता सुशील परियार र गिरीराज डाँगीको पहलमा विभिन्न देश–विदेशबाट सहयोग संकलन गरिएको थियो। सोही अभियानमार्फत संकलित सहयोग शनिबार बिष्टकै घरमा पुगेर हस्तान्तरण गरिएको हो।


हस्तान्तरण गरिएको सामग्रीमा दाल, चामल, तेल, साबुन, सरफ, सोयाबिन, कपडा, जुत्ता, कापी लगायत घरपरिवारलाई आवश्यक सम्पूर्ण सामग्री रहेको छ। साथै तीज खर्चका लागि नगद ६ हजार रुपैयाँ समेत प्रदान गरिएको छ। करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको अभियन्ता परियारले जानकारी दिनुभयो।

परियारका अनुसार हालसम्म ६५ हजार रुपैयाँ संकलन भइसकेको छ भने थप सहयोगी दाताहरुको साथ पाएमा बिष्ट परिवारका लागि घर निर्माण गर्ने अभियान सञ्चालन गरिनेछ। ूशोभा बिष्ट मानसिक रोगी हुनुहुन्छ, उहाँसँगै दुई छोरा, दुई छोरी र आमासहित परिवार रहेको छ। हाल अरुको घरमा बस्दै आउनुभएको छ। त्यसैले अबको प्रमुख लक्ष्य उहाँलाई स्थायी घर उपलब्ध गराउने हो,ू अभियन्ता परियारले बताउनुभयो।

राहत सामग्री प्राप्त गरेपछि शोभा बिष्टले खुसी व्यक्त गर्दै विभिन्न देश–विदेशबाट सहयोग गर्ने सबै दाताहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो। साथै थप सहयोग जुटाई आफूलाई स्थायी घर बनाई दिन सबैसँग आग्रह गर्नुभयो। साभार खाेजरफ्तार

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्