गुणस्तरीय शिक्षा दिन सबैले ध्यान दिनुस् : नगर प्रमुख जोगराज चौधरी

शनिबार, भदौ २१, २०८२

दाङ,२१ भदाै - दाङकाे लमही नगरपालिका–८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित चार कोठे भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दै आएको भन्दै सो लगानीको उचित उपयोग गर्दै विद्यार्थीको शैक्षिक उपलब्धि सुधार्न शिक्षकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकार सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयमा अपेक्षित सुधार ल्याउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले शिक्षा विकासलाई नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनु भयो । शुक्रबार आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यालयमा सिकाइ–सुधार र सुविधा विस्तारलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्