बंगलाचुलीमा यसवर्ष पनि परम्परागत भैलो महोत्सव –२०८२ हुने

बुधबार, कात्तिक १२, २०८२

कमिरेचौर १२ कार्तिक -  स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ बंगलाचुली गाउँपालिकाले यस वर्षपनि भैलो महोत्सव गर्ने भएको छ । गाउँपालिकाले कार्तिक १५ गते (हरिबोधनी एकादशीका दिन) “परम्परागत भैलो महोत्सव–२०८२”  गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराउनुभएको हो ।

महोत्सव बंगलाचुली गाउँपालिका–५ स्थित पर्यटकीय क्षेत्र बंगलाचुली लेकमा गरिने छ ।यसैविच बंगलाचुली गाउँपालिकाले महोत्सवमा गाउँपालिकाका आठवटै वडाका भैलो समूहहरूलाई सक्रिय सहभागिता जनाउन अनुरोध समेत गरेको छ ।भैलो महोत्सव सम्पन्न गर्नका लागि गाउँपालिकाले वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीलाई संयोजकको जिम्मेवारी समेत तोकेको छ । भैलो समूह दर्ताका लागि वडा नं. ५ का अध्यक्ष तथा भैलो महोत्सव आयोजन समितिका संयोजक लिला बहादुर घर्ती लाई उहाँको सम्पर्क नम्वर ९८४४९२८२५० मा सम्पर्क गर्न सकिने छ । भैलो समूहहरूले कार्तिक १४ गतेभित्र आफ्नो समूह दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसैविच गाउँपालिकाले भैलो महोत्सवलाई अवलोकनका लागि गाउँपालिकावासी, छिमेकी जिल्ला तथा पालिकाका आमजनसमुदायलाई समेत निमन्त्रणा गरेको छ । गाउँपालिकाले सबै वडा कार्यालयहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जेन–जी अगुवाहरू, सामाजिक संघ–संस्थाहरू, टोल विकास समिति तथा आमा समूहहरूलाई महोत्सवमा सहभागी भई मौलिक कला र संस्कृतिलाई जीवन्त राख्न आग्रह गरेको छ । 

महोत्सवमा गाउँपालिकाको प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराई देउसी भैलो कार्यक्रम गरिने छ । भैलो कार्यक्रममा सहभागी हुने भैलो समूहलाई पालिकाले सहभागी सबै भैलोलाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने छ । बंगलाचुली गाउँपालिकाले विगतका वर्षहरुबाट स्थानिय कलासंस्कृतिको संरक्षण,संवर्धनका लागि भैलो महोत्सवको आयोजना गर्न सुरु गरेको छ । भैलो महोत्सवले स्थानीय मौलिकता, परम्परा र संस्कृतिको प्रदर्शन एवं संरक्षणको महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ ।

571141721_1524244828767179_1428757635570289216_n-1761703522.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्