Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

धारपानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सुझाव

बुधबार, कात्तिक १९, २०८२

दाङ,१९ कात्तिक - दाङकाे  पाण्डवेश्वर धाम धारपानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विशेष चासो देखाएको छ।

प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र काफ्ले थुम्केली, परिषद् सदस्य प्रदीप अधिकारी र दिनेश्वर महतोको टोलीले आज धारपानी व्यवस्थापन समितिसँग भेटघाट गरी यहाँको विकासका सम्भावना र कलात्मक योगदानका विषयमा छलफल गरेको हो ।

अवलोकनपछि सदस्य–सचिव थुम्केलीले धारपानीको प्राकृतिक र सांस्कृतिक संरचना मूर्तिकला निर्माणका लागि अत्यन्त उपयुक्त रहेको बताए । “धारपानी ढुंगामूर्तिका लागि अनुपम स्थान रहेछ । यहाँ मूर्तिबगैँचा बनाउन सकिन्छ र ललितकला प्रतिष्ठान यसका लागि सहकार्य गर्न तयार छ”, थुम्केलीले भने । 

उनले दाङको माटो बलियो र सृजनात्मक सम्भावनाले भरिएको उल्लेख गर्दै थपे, “यहाँको माटोबाट त्रिशुल, लकेट, ब्रासलेटजस्ता कलात्मक चिनोहरू उत्पादन गर्न सकिन्छ । यसले स्थानीय उद्यमशीलता र पर्यटन दुवैलाई जोड्न मद्दत पुर्याउँ छ ।”

धारपानी व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले प्रतिष्ठानको पहललाई स्वागत गर्दै सहकार्य गर्न तयार रहेकाे बताए । पाण्डवेश्वर धामकाे विकासका लागि तात्कालीन र दीर्घकालीन कार्ययाेजना बनाएर अगाडि बढिरहेकाे भन्दै अध्यक्ष अधिकारीले यसका सम्भावनाकाे खाेजी गरिररहेकाे बताए । 

“नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देखाएको चासोले हामीलाई उत्साहित बनाएको छ । कलात्मक मूर्तिहरू र स्थानीय हस्तकलाका माध्यमबाट धारपानीलाई अझ आकर्षक धार्मिक गन्तव्य बनाउन सकिन्छ । यसतर्फ हामी याेजना बनाएर प्रतिष्ठानसँग सहकार्यकाे प्रस्ताव पठाउँछाैँ”, अध्यक्ष अधिकारीले भने ।

भेटमा समितिका सचिव विष्णुराम आचार्यले धारपानीलाई धार्मिक आस्था र संस्कृतिको प्रतीकका रूपमा विकास गर्न चाहेकाे बताए । यहाँका सम्भावना प्रचुर रहेकाे भन्दै सचिव आचार्यले भने, “यहाँको ढुंगा र माटो आफैमा इतिहास बोकेको छ। यदि कलाले त्यसलाई नयाँ रूप दिन सक्यो भने धारपानी नेपालको सांस्कृतिक परिचय बन्न सक्छ। प्रतिष्ठानले देखाएकाे चासाेले धारपानीलाई जीवन्त बनाउन थप मद्दत गर्नेछ भन्ने विश्वास जगाएकाे छ ।”

प्रतिष्ठानले भविष्यमा स्थानीय कलाकार, मूर्तिकार र समितिसँग मिलेर धारपानी क्षेत्रको कलात्मक संरक्षण र मूर्तिकला प्रवद्र्धनका कार्यक्रम अघि बढाउन सहयाेग गर्ने सदस्य सचिव थुम्केलीले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
समाचार