Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा ‘सरसफाइ डिजिटल अवार्ड’ घोषणा, सहभागी हुन आह्वान

बिहीबार, कात्तिक २०, २०८२

मसुरिया, २० कार्तिक - पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित दाङको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ। फोहोर व्यवस्थापनमा सुधार ल्याउने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सूचना प्रकाशित गर्दै कार्यक्रमको घोषणा गरिएको हो।

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका स्थानीय, विद्यार्थी, युवा, महिला समूह तथा समुदायका सराेकारवाला व्यक्ति वा समूहहरूले सरसफाइसम्बन्धी गतिविधि तथा स्थानीय पहल समेटिएको भिडियो तयार गर्नुपर्नेछ। भिडियो कम्तिमा ३० सेकेन्ड र बढीमा ३ मिनेटको दायरा भित्र तयार हुनुपर्ने जनाएको छ।

भिडियोमा घर–आँगन सफाइ, सडक र नालीको नियमित सरसफाइ, कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास, प्लास्टिकका विकल्पको प्रयोग, तथा सामुदायिक सरसफाइ अभियानमा स्थानीय सहभागिताजस्ता विषय समेट्न सकिने बताइएको छ। साथै, भिडियो स्पष्ट, प्रभावकारी र स्थानीय भाषा, संस्कृति तथा जीवनशैली झल्किने खालको बनाउन आग्रह गरिएको छ।

सहभागिता सहज बनाउनका लागि इच्छुक व्यक्ति वा समूहहरूले तयार गरिएको भिडियो यही पौष महिनाभित्र राप्ती गाउँपालिका कार्यालयमा दर्ता गराउनु पर्ने जनाएको छ।

उत्कृष्ट तथा प्रभावकारी भिडियो चयन गरी ‘राप्ती गाउँपालिकाको सरसफाइ रनिङशिल्ड सञ्चालन कार्यविधि २०८२’ अनुसार सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ। यस अभियानले सरसफाइप्रति समुदायको जिम्मेवारी र सहभागिता अझै बढाउने विश्वास गरिएको छ।WhatsApp-Image-2025-11-06-at-12.17.15-PM-1762422869.jpeg

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
समाचार