सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, २१ कार्तिक - दाङको राप्ती गाउँपालिका–२ लालमटियामा अवस्थित आदर्श नमुना माध्यमिक विद्यालयमा २४ महिने निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम संचालन हुने भएको छ। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले इन्स्योर परियोजनाको सहकार्यमा उक्त तालिम सञ्चालन गर्न लागेको हो।
यसै सन्दर्भमा, शुक्रबार विद्यालयको आयोजनामा र हेल्बी टान्स नेपालकाे प्राविधिक सहयोगमा राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले तालिमले माध्यमिक शिक्षा उत्तीर्ण हुन नसकेका युवाहरूलाई स्वावलम्बनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “रोजगार र सीप विकासमा केन्द्रित यस्तो कार्यक्रमले युवाहरूलाई स्वदेशमै सशक्त बनाउनेछ,” उपाध्यक्ष चौधरीले भन्नुभयो। उहाँले गाउँपालिकाले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले यस्तो प्रकारका कार्यक्रमहरूले अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलका अनुसार एसईई उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई लक्षित गरी सिटीभिटी मान्यता प्राप्त प्रि–डिप्लोमा स्तरको औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन गर्न लागिएको हो। “यो तालिम व्यावहारिक अभ्यासमा आधारित छ। पहिलो साढे तीन महिना विद्यालयमै सैद्धान्तिक तथा व्यावहारिक कक्षा रहनेछ भने बाँकी अवधि विभिन्न विद्यालयमा गई अध्यापन कार्यमार्फत दक्षता विकास गरिनेछ,” पौडेलले बताउनुभयो।
तालिमका लागि आवेदन फाराम कार्तिक २८ गतेसम्म खुला रहनेछ भने मंसिर १ गते अन्तर्वार्ता लिएर छानोट प्रक्रिया सम्पन्न गरिने विद्यालयले जनाएको छ।
इन्स्योर परियोजनाका प्रदेश म्यानेजर अम्बिकाप्रसाद तिमल्सिनाले तालिममार्फत युवाहरूमा सीप विकास भई स्वदेशमै रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गर्नुभयाे। “माध्यमिक शिक्षा उत्तीर्ण गर्न नसकेका युवाहरूलाई लक्षित गरी स्वावलम्बी बनाउने नै परियोजनाको मुख्य उद्देश्य हो,” तिमल्सिनाले भन्नुभयो।
कार्यक्रममा राप्ती गाउँपालिका–४ का वडाध्यक्ष वीरबहादुर चौधरी, दुर्गाभवानी आधारभूत विद्यालय मसुरियाका प्रधानाध्यापक केशवराज आचार्य, बीपी आधारभूत विद्यालय बसन्तपुरका प्रधानाध्यापक जिवराज शर्मा, गंगा प्राथमिक विद्यालय शान्तिपुरका प्रधानाध्यापक कृष्णबहादुर बुढामगर लगायतले तालिम अत्यन्त उपयोगी र समयोपयुक्त रहेको धारणा राख्नुभयाे।
कार्यक्रममा इन्स्योर परियोजनाका मेल संयोजक नेपालराम चौधरीले तालिमको संरचना, सहभागिता प्रक्रिया तथा सञ्चालन विधिबारे विस्तृत जानकारी गराउनुभएकाे थियो ।
सो कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडाध्यक्षहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू,शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ललगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक फर्सुराम सुवेदीले गर्नुभएको थियो।