राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड सम्बन्धी अन्तरक्रिया : फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्नेमा जोड

सोमबार, कात्तिक २४, २०८२

भालुबाङ, २४ कार्तिक - दाङको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले फोहोर व्यवस्थापनलाई दीगो बनाउन फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्नेमा जोड दिनु भएको थियो।

साे अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सफा, स्वस्थ र सुन्दर गाउँपालिका निर्माण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।त्यस्तै उहाँले सरसफाइलाई बानी र संस्कारका रूपमा आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सरसफाइ कार्यमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय तह, समुदाय, संघ–संस्था र नागरिकहरूको सहकार्य बिना दीगो सरसफाइ सम्भव नहुने भन्दै सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो।

लुम्बिनी प्रदेश खानेपानी महासंघका उपाध्यक्ष हस्तबहादुर गुरुङले खानेपानी र सरसफाइ एक–अर्काका पूरक भएकाले समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयाे।

भालुबाङ होटल व्यवसायी संघका उपाध्यक्ष पुनाराम भुसालले जथाभावी फोहोर फाल्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्नेमा पालिकाको ध्यानाकर्षण गराउँदै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

यसैगरी, रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम अधिकारीले सरसफाइ सेवामा खटिने कर्मचारीको व्यवहार सुधार आवश्यक रहेको बताउनुभयो ।त्यस्तै उहाँले सरसफाइ शुल्क तिर्न नमान्ने व्यक्तिहरूलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट रोक्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरूले सरसफाइ शुल्क संकलनमा देखिने चुनौती, सार्वजनिक स्थानमा राखिएका डस्टबिनको नियमित व्यवस्थापन, र चाडपर्वको समयमा पनि सरसफाइ सेवा निरन्तरता दिनुपर्ने विषयमा सुझाव राख्नु भएको थियो।

कार्यक्रममा सरसफाइ शाखा प्रमुख गीता चौधरीले पालिकाले हाल सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गरिने सरसफाइ कार्यक्रमबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।

यस्तै, सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले पालिकाले घाेषणा गरेको ‘सरसफाइ डिजिटल अवार्ड’ कार्यक्रमको कार्यविधि तथा मूल्यांकन प्रणालीबारे विस्तृत जानकारी गराउनुभयाे।

पालिकाले गतवर्ष देखि विभिन्न सूचकको आधारमा मूल्यांकन गरि वार्षिक रुपमा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।प्रतियोगितामा उत्कृष्ट वडा तथा टाेल विकास संस्थाहरुलाई उचित पुरस्कार सहित सम्मान गर्ने गरेको छ। 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दल र सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ–संस्था प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास बिकले गर्नुभएको थियो।

गाउँपालिकाले विगत दुई वर्षदेखि सरसफाइ संकलन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल तथा कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्दै आइरहेको 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्