राप्तीमा ५० प्रतिशत अनुदानमा २ सय क्विन्टल बढी उन्नत जातको गहुँको बीउ वितरण

मंगलबार, कात्तिक २५, २०८२

मसुरिया, २५ कार्तिक - दाङको राप्ती गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा २ सय ३ क्विन्टल ४० केजी उन्नत जातको गहुँको बीउ वितरण गरेको छ। कृषि उत्पादनमा वृद्धि गर्नुका साथै कृषकहरूको आर्थिक बोझ कम गर्ने उद्देश्यले पालिकाले बिजय, बाणगंगा र गौतम जातका बीउ वितरण गरेको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

कृषि शाखा प्रमुख बरसाती गडरियाका अनुसार बिजय जातको १ सय ६१ क्विन्टल ६० केजी, बाणगंगा जातको १९ क्वीन्टल ४० केजी तथा गौतम जातको २२ क्विन्टल ४० केजी बीउ कृषकहरूलाई उपलब्ध गराइएको छ। प्रति किलोग्राम ७४ रुपैयाँ पर्ने बीउलाई पालिकाले अनुदान पश्चात ३७ रुपैयाँमा वितरण गरेको हो।

यसअघि पालिकाले बीउ माग सम्बन्धी सूचना प्रकाशित गरेपछि कृषकहरूले आफ्ना-आफ्ना वडामार्फत आवश्यक परिमाण टिपाएका थिए। सोही मागको आधारमा बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ।

गहुँका यी बीउहरू युनिभर्सल सिड कम्पनी, भैरहवा बाट खरिद गरी वितरण गरिएको हो। राप्ती गाउँपालिकाले हरेक वर्ष कृषकलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आएको छ।
कृषि उत्पादनलाई दिगो र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने पालिकाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्