किताबमा पढेको मन्दिर हेर्न गोरखाका विद्यार्थी देवीकोट पुगे

आइतबार, मंसिर ७, २०८२

भालुबाङ, ६ मंसिर दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोरखा आइडियल स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शनिबार वडा नं. ९ देविकोटमा रहेको भद्राक्षी देवी मन्दिरको स्थलगत अवलोकन गरेका छन्।

स्थानीय पाठ्यक्रम अन्तर्गत धार्मिक तथा पर्यटकीय स्थलको अध्ययनलाई प्रत्यक्ष अनुभवसँग जोड्न विद्यालयले यो भ्रमण आयोजना गरेको हो।

सो अवसरमा विद्यार्थीहरूलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, तथा मन्दिरका पुजारी लिलबहादुर कार्कीले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी दिनुभयो।

अध्यक्ष विष्टले यस्ता भ्रमणले विद्यार्थीहरूमा स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी बढाउने उल्लेख गर्दै, स्थानीय सम्पदा संरक्षण र अध्ययनमा सक्रिय भूमिका खेल्न प्रेरित गर्नुभयो।

सतीदेवीको देब्रे खुट्टा पतन भएको ऐतिहासिक महत्व बोकेको मन्दिर विद्यार्थीहरूको अध्ययनका लागि महत्वपूर्ण हुने अध्यक्ष विष्टको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक बसन्त पुन मगरले किताबमा पढेको ज्ञानलाई व्यवहारमा उतार्न स्थलगत अवलोकन अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले सबै विद्यार्थीले भद्राक्षी देवी मन्दिरबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक वर्ष कक्षा ८ का विद्यार्थीलाई भ्रमण गराउने प्रचलन रहेको बताउनुभयो।

भ्रमणमा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष अवलोकनबाट मन्दिरको इतिहास, मान्यता र सांस्कृतिक महत्व बुझ्न पाएकोमा खुशी व्यक्त गरे। विद्यालयले यसै गरि स्थानीय पाठ्यक्रमअनुसार पालिकाभित्रका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थलगत अध्ययनमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि सहभागी गराउँदै आइरहेका जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्