Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा मंसिर २४ गते खुल्ला महिला म्याराथन प्रतियोगिता हुने

मंगलबार, मंसिर २३, २०८२

मसुरिया, २१ मंसिर - लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानकाे अवसर पारेर दाङको राप्ती गाउँपालिकाले खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन सम्पूर्ण राप्तीबासी महिलालाई आह्वान गरेको हो।

सूचना अनुसार प्रतियोगिता मंसिर २४ गते बिहान ८ बजेबाट सुरु हुनेछ। यसको प्रारम्भिक बिन्दु राप्ती गाउँपालिका–७ स्थित मिलनचोक रहनेछ भने समापन वडा नं.३ काे बीपी आधारभूत विद्यालय बसन्तापुरमा हुनेछ। दौडका सहभागीहरूले मिलनचोकदेखि विद्यालयसम्मको दूरी पूरा गर्नुपर्ने जनाइएको छ।

महिला सशक्तीकरण, शारीरिक तन्दुरुस्ती तथा लैङ्गिक हिंसाविरुद्धको जागरण फैलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले प्रत्येक वर्ष १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने प्रतिस्पर्धीलाई क्रमशः १४ हजार, १२ हजार, १० हजार र ४ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्