प्रकृति संरक्षणमा सामुदायिक वनको भूमिका अब्बल

मंगलबार, मंसिर २३, २०८२

दाङ, २३ मंसिर -  प्रकृति संरक्षणमा सामुदायिक वनको भूमिका अब्बल देखिएको छ । नेपालमा उत्कृष्ट रहेका सामुदायिक वनहरुको भूमिका दाङ जिल्ला पनि  राम्रो पाइन्छ ।  जिल्लामा रहेका प्राकृति सम्पदाहरुको संरक्षण तथा व्यवस्थापनामा सामुदायिक वनको भूमिका निकै महत्वपूर्ण रहदै आएको छ ।

२०४९ सालमा वन ऐन आएसँगै त्यसले सामुदायिक वनको अवधारणा ल्याएको र त्यसैअनुसार स्थानीय समूहलाई सामुदायिक वनको संरक्षण गर्ने गरी वनको हस्तान्तरण भएको पछि प्रकृति संरक्षण सामुदायिक वनको भूमिका सकारात्मक रहेको डिभिजन वन कार्यालय दाङ घोराहीका योजना शाखा प्रमुख वरिष्ठ वन अधिकृत ओमबहादुर वलीले बताउनुभयो । उहाँले स्थानीय समुदायलाई सामुदायिक वन हस्तान्तरण भएसँगै वनमा भएका  दाउरा, स्याउला, घाँस, काठ, ढुङ्गा आदिको संरक्षण तथा व्यवस्थापनमा सामुदायिक वनले राम्रो भूमिका खेल्दै आएको जानकारी दिनुयभो । साथै, दीगो वन व्यवस्थापन अन्तर्गत लागि पनि सामुदायिक वनहरुले वनमा तारबार गर्ने, कटान छटान गर्ने, साना विरुवालाई सम्बर्धन गर्ने, वनमा भएका बाक्ले रुखहरुलाई पत्लाउने जस्ता कामहरु गरिरहेका समेत उहाँको जोड थियो ।

सामुदायिक वनको सबै पक्ष राम्रो भएतापनि सुशासनको पक्षमा भने केही समस्या रहेको उहाँले बताउनुभयो । सामुदायिक वन ससूहका विधानअनुसार कार्यसमितिको अवधि दुई÷तीन वर्षको हुने र त्यसपछि समूहमा पुनः अर्काे नयाँ कार्यसमिति आउने भएको हुँदा सुशासनको पाटोमा समस्या देखिएको उहाँको भनाइ थियो । वनको ऐन नियमअनुसार कार्यसमितिको अवधि पाँच वर्ष राख्न सकिने प्रावधान भएतापनि पनि दुई÷तीन वर्षमै कार्यसमितिको हेरफेर हुने गरेको छ । सामुदायिक वनको कार्यसमितिमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने  प्रावधान समेत रहेको छ ।

वन कार्यालयले सामुदायिक वनहरुका पदाधिकारीहरुलाई लेखा, सुशासन, वन व्यवस्थापन लगायतका विषयमा विभिन्न गोष्ठी, तालिम, अन्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको भएतापनि वन समूहका लागि पर्याप्त हुन नसकेको वरिष्ठ वन अधिकृत वलीले बताउनुभयो । उहाँले सामुदायि वनकाका लागि वनसम्बन्धी कार्यक्रमहरुमा सम्बन्धित निकायहरुले पनि जोड दिनुपर्ने आवश्यक देखिएको बताउनुभयो ।

दाङमा चार प्रकारका वन रहेका छन् । जिल्लामा अहिले सामुदायिक वन, निजी वन, धार्मिक वन र सरकारद्वारा व्यवस्थित वन गरी चार प्रकारका वन सञ्चालनमा रहदै आएका छन् । जिल्लामा तीन सय ८९ वटा सामुदायिक वन रहेको र त्यो ६० हजार पाँच सय ८६ दशमलव ७० हेक्टर क्षेत्रफलमा फैलिएको डिभिजन वन कार्यालय दाङ घोराहीका योजना शाखा प्रमुख वरिष्ठ वन अधिकृत ओमबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभित्र दुई सय ४० वटा निजी वन र पाँच वटा धार्मिक वन रहेका छन्, भने एउटा सरकारद्वारा व्यवस्थित कालपानी चक्ला वन रहेको छ । एक सय १२ हेक्टरमा निजी वन र एक सय १२ दशमलव ५२ हेक्टरमा धार्मिक वनको क्षेत्रफल गरेको छ, भने कालापानी चक्ला वन पाँच सय  ७४ हेक्टर क्षेत्रफलमा रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा भएका तीन सय ८९ वटा सामुदायिक वनमध्ये कमिरेचौर सव–डिभिजन वन कार्यालयमा ؘ ३७, सुनपुर सव–डिभिजन वन कार्यालयमा ३७, अम्बिकेश्वरी सव–डिभिजन वन कार्यालयमा ८३, नारायणपुर सव–डिभिजन वन कार्यालयमा ४०, बिजौरी सव–डिभिजन वन कार्यालयमा ५१, तुलसीपुर सव–डिभिजन वन कार्यालयमा ५७, दंगीशरण सव–डिभिजन वन कार्यालयमा ६५ र पुरनधारा सव–डिभिजन वन कार्यालयमा २० वटा सामुदायिक वन रहेका छन् ।

हालसम्म सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनमा ३१ वटा सामुदायिक वन र एउटा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन गरी ३२ वन रहेका छन् । वनको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार सामुदायिक वनहरुले वन पैदवार उत्पादन गर्ने र त्यसलाई आन्तरिक तथा बाह्य रुपमा बिक्री वितरण गर्ने गरेका छन् । पछिल्लो समयमा बजारमा काठको माग राम्रै भएतापनि काठको विकल्पमा रहेका सस्तो र राम्रो देखिने आल्मुनियम र युपिभिसीले गर्दाले चुनौती थपिदै गएको छ । कार्यालयले जिल्लाका घोराही, तुलसीपुर, बंगलाचुली, दंगीशरण, शान्तिगर र बबई गरी ६ स्थानीय तहहरुका ८ वटा सव–डिभिजन वन कार्यालहरुबाट सामुदायिक वनलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्