Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता सुरु

बिहीबार, मंसिर २५, २०८२

घोराही, २४ मंसिर - घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता – २०८२ सुरु भएको छ । प्याब्सन घोराही नगर कमिटीको आयोजनामा बुधबारदेखि घोराही –१८ मा रहेको नवलपुर खेलमैदान चौथो संस्करणको रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।WhatsApp-Image-2025-12-10-at-8.36.51-PM-1765470560.jpegप्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले निजी विद्यालय जन्मिदै गर्दाखेरी यो देशले हामीलाई प्रहार गर्न सुरु गरेको बताउनुभयो । सरकारले निजी विद्यालयको प्रगतिमा हातेमालो गर्नुको सट्टा अपहेलना गर्दै विभिन्न बाहनामा निजी विद्यालयलाई अंकुस लगाउने काम गरेको समेत उहाँले बताउनुभयो । निजी विद्यालयको प्रगतिले अन्तराष्ट्रियस्तरमा छवि बनाएपछि सरकारले सामुदायिक विद्यालयमा अर्बौ अरब पैसा लगाएपनि त्यो लगानी बालुवामा पानी हाले जस्तै भएको उहाँले बताउनुभएको थियो ।

प्याब्सनमाथि जति प्रहार भएपनि हामी फेरी यो राष्ट्रको समृद्धिका लागि र शिक्षामा हातेमालो गरेर अगाडि बढ्न हामीहरु तयार छौं र यो देशमा सबैभन्दा पहिले सामुदायिक विद्यालय बन्नुपर्छ, उहाँले भन्नुभयो । सामुदायिक विद्यालय बनाउदा खेरी निजी विद्यालयलाई निर्मुल पार्ने होइन्, सारथी बनाउनुपर्छ भन्ने हाम्रो माग हो । सरकारले सहकार्यको वातावरण बनाउन सकियो भने निजी  विद्यालयले पनि सामुदायिक विद्यालयसँग हातेमालो गर्दै यो देशको शिक्षालाई फड्को मार्ने थुप्रै उपाय र सोचहरु ल्याउन सकिने  उहाँको भनाइ थियो ।

विद्यालयले विद्यार्थीहरुका सुन्दर भविष्यका निर्माणको लागि योजनासहित लगानी बढाउदै जानुपर्ने र विद्यालयलाई एउटा साझा फूलबारीको रुपमा स्थापित गर्नुपर्ने समेत अध्यक्ष पाण्डेले बताउनुभयो । विद्यालयलाई साझा फूलबारी बनाएर खुशी शिक्षा लागू गर्दै विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणमा जोडदिनुपर्ने उहाँले बताउनुभयो । संस्कारसहितको गणात्मक शिक्षाको लागि प्याब्सन लुम्बिनी प्रदेशले विभिन्न योजना ल्याउन लागेको समेत उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्याब्सनले  शिक्षासँगै विद्यार्थीहरुको चौतर्फी विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालको समग्र शिक्षा प्रणाली सुधारसँगै गुणस्तरीय शिक्षामा निजी विद्यालय योगदान ठूलो रहेको समेत बताउनुभयो । प्याब्सन घोराहीले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै  खेलकुदमा जोड्नका लागि विगतदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकता राखेर अगाडिको बढेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।  खेलकुदको विकास र विस्तारका गर्नका शिक्षासँगै खेलकुदका पाठ्यक्रयहरु कितावहरु अनुवार्य रुपमा समावेश हुनुपर्ने उहाँले बताउनुभएको थियो ।  

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले घोराहीमा ४१ वटा विद्यालयबाट सुरुभएको रनिङमा अहिले ५८ वटा विद्यालयले सहभागी जनाएको बताउनुभयो । उहाँले खेलकुदले मानिसको स्वास्थ्यसँगै मानसिक र भौतिक शारिरीक विकासमा महत्पूर्ण भूमिका खेल्ने कुरामा जोडदिँदै विद्यार्थीहरुलाई अनुशासित भएर खेलकुद सहभागी हुनुपर्ने बताउनुभयो । खेलमा जित हार हुने भएको हुँदा विद्यार्थीहरुले चार दिनसम्म चल्ने खेलकुद प्रतियोगितामा अनुशासित भएर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो र विद्यालयको नामलाई उच्च बनाउनुपर्ने उहाँको भनाइ थियो ।

प्याब्सन घोराहीका प्रमुख सल्लाहकार बिरेन्द्र चन्दले २०७९ सालदेखि घोराहीमा रनिङ शिल्ड प्रतियोगिताको सुरुवात गरिएको बताउनुभयो । उहाँले खेलकुद माध्यमबाट विद्यार्थीहरुको क्षमता विकास गर्न र संस्थागत विद्यालयहरुबीच एकता कायम गर्ने प्याब्सन रनिङ शिल्डको प्रमुख उद्देश्य भएको समेत बताउनुभएको थियो ।

घोराही उपमहानगरपालिका –१८ का वडाध्यक्ष भरतमणि अर्यालले विगतको भन्दा यो वर्षको रनिङ शिल्ड प्रतियोगिता व्यवस्थित र अनुशासित रुपमा सञ्चालन भएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीहरुलाई शिक्षासँगै खेलकुदको महत्व बढ्दै गएको समेत बताउनुभयो । घोराही उपमहानगर र संस्थागत विद्यालयबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै उहाँले प्याब्सनलाई आवश्यक सहयोग गर्न उपमहानगर सधै तयार रहेको बताउनुभयो ।

घोराही नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले प्याब्सनले घोराहीमा चौथो संस्करण खेलकुद कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई खेलमा समावेश गरेर महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको  थियो । यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरुमा भएका अन्तरनिहित प्रतिभा बाहिर ल्याएर थप ज्ञान बढ्ने समेत उहाँले बताउनुभयो ।  भदौ २३ र २४ गते भएको आन्दोलनले देशभर क्षति भएको र त्यसको प्रत्यक्ष प्रभाव आर्थिक क्षेत्रमा परेको हुँदा घोराहीमा  खेलकुदका कार्यक्रमहरु आयोजना गर्न नसकिएको उहाँको भनाइ थियो  ।

प्याब्सन घोराही नगरका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा प्याब्सनका केन्दीय प्रतिनिधि, लुम्बिनी प्रदेशका प्रतिधि, विद्यालयका प्रधानाध्यापक लगायत विद्यालर्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा घोराही नगरभित्रका ५८ वटा विद्यालयका विद्यार्थीहरुले खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्, भने प्रतियोगितामा भलिबल, कपड्डी लगायत एथेलेटिक्सका विभिन्न इभेनटहरु हुने भएका छन् । कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव बिमल भण्डारीले गर्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यालयहरुले घोराहीस्थित तुलसीपुर चोकबाट निकालेको ¥याली सहिद गेट, वीपी चोक र ट्राफिक चोक हुँदै नवलपुर खेलकुद मैदानमा पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
समाचार