राप्ती गाउँपालिकामा सरसफाइ व्यवस्थापन र एमसिए परियोजनाबारे सर्वदलीय छलफल

शनिबार, मंसिर २७, २०८२

मसुरिया, २७ मंसिर - दाङको राप्ती गाउँपालिकाले शुक्रबार पालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासँग सरसफाइ व्यवस्थापन र एमसिए परियोजनाकाे विषयमा सर्वदलीय छलफल गरेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकमा एमसिए परियोजना अन्तर्गत धानखोला–लमही सडक खण्ड विस्तार तथा सरसफाइ व्यवस्थापन केन्द्रमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।

बैठकले शुक्रबार बिहान वडा नम्बर २, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन केन्द्रमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै, उक्त घटनामा संलग्न जो–कोहीलाई छानबिन गरी कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ। साथै केन्द्रमा रहेका फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

छलफलमा सरसफाइ केन्द्रमा देखिएका समस्या समाधानका लागि पालिकामा क्रियाशील सबै राजनीतिक दलले आ–आफ्नो तहबाट सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

एमसिए परियोजनाअन्तर्गत सडक स्तरोन्नतिको विषयलाई संघीय सरकारको ध्यानाकर्षण गराउन कार्यदल गठन गरी सम्बन्धित निकायमा डेलीकेशन जाने निर्णय पनि बैठकले गरेको छ।

उक्त छलफलमा उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आवश्यक सुझाव तथा धारणा समेत प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्