Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती–९ रूपाकोटमा सहकारी संस्थाको क्षमता विकास तालिम सम्पन्न

मंगलबार, पुस १, २०८२

रुपाकाेट,१ पुस - दाङको राप्ती गाउँपालिका–९, रूपाकोटमा सहकारी संस्थाको संस्थागत क्षमता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले गर्नुभएको थियो। नासाविकेको “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत गठन भएको राप्ती कृषि सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सेयर सदस्य गरी १९ जनाको सहभागिता रहेको थियो।

तालिममा सहकारी संस्थाभित्र बचत तथा पूँजी निर्माण, पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, कार्यविधि, सहकारीमा देखिन सक्ने जोखिमका क्षेत्र तथा जोखिम व्यवस्थापन, उत्पादन तथा खरिद–बिक्री योजना, व्यवसायिक योजना लगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।

प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेल र प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले तालिमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले गर्नुभएको थियो।

तालिमबाट सहकारी संस्थाको सुशासन, व्यवस्थापन क्षमता तथा व्यवसायिक दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्