Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

मंगलबार, पुस १, २०८२

मसुरिया,१ पुष - राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच सोमबार भेटवार्ता भएको छ।

गाउँपालिकाको कार्यालय मसुरियामा भएको भेटमा अध्यक्ष विष्टले शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह गर्नुभयो। उहाँले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसँग जोडिएको राप्ती उपत्यका जनघनत्व र सवारीसाधनको चापका दृष्टिले ६ लेनको सडक आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष विष्टले विगतदेखि नै कम्तीमा ४ देखि ६ लेनको सडक निर्माणका लागि सुझाव दिँदै आएको तर ती सुझाव कार्यान्वयनमा नआएको प्रति दु:ख व्यक्त गर्नुभयो। उहाँले शहरी मापदण्डअनुसार बीचमा डिभाइडर सहितको निर्माण हुनुपर्ने धारणा राख्नुभयो।

केही दिनअघि मात्रै राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक बसेर यस विषयमा केन्द्र सरकारसमक्ष डेलिगेसन जाने तयारी भएको जानकारी पनि अध्यक्ष विष्टले दिनुभयो।

भेटमा एमसिए नेपालका प्रतिनिधिहरूले आयोजना मापदण्डअनुसार अघि बढाउने तयारी भइरहेको बताउँदै विकासका काममा सबैको सहयोग आवश्यक रहेको धारणा राखे। छलफलका क्रममा प्रतिनिधिहरूले बाह्र मिटर चौडाइमा सडक कालोपत्रे गरिने जानकारी दिएका छन्। ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी पुस महिनाको ७ गते ठेक्का सम्झौता हुने एमसिए नेपालका सञ्चार विज्ञ सविन मिश्रले जानकारी दिनुभयो।

एमसिए नेपालले आफूहरू सरकारको निर्णय कार्यान्वयन गर्ने निकाय भएकाले स्वीकृत मापदण्डअनुसार नै काम अघि बढाइने स्पष्ट पारेको छ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्राैटा (कपिलवस्तु)–शिवखोला (दाङ) सडक खण्डको स्तरोन्नति तथा मर्मतसम्भार कार्य गर्न एमसिए नेपाललाई अनुमति दिएको हो।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्