सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१३ पौष - दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले एक कार्यक्रमको आयोजना गरी आज शनिबार आफ्नो ३२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता र निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष निर्मल न्यौपाने र घोराही उपमहानगरपालिका वडा न २ का अध्यक्ष चित्र बहादुर चौधरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री न्यौपानेले सामुदायिक र निजी विद्यालयबिच आलोचना र प्रतिस्पर्धा नभई समन्वय र प्रगाढ सम्बन्ध बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
सामुदायिक र निजि विद्यालयका सामु शिक्षालाई गुणस्तरीय बनाई विश्व सँग प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । यो चुनौती सामना गर्नका लागि एकले अर्कोलाई आलोचना नभई समन्वय जरुरी रहेको बताउनुभयो । राज्यले गर्नुपर्ने काम निजी विद्यालयले गरेको भन्दै मन्त्री न्यौपानेले शिक्षाको बिकासका लागि निजी विद्यालयको सिको सवैले गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शिक्षा क्षेत्रको बिकास नै देशको सवै क्षेत्रको बिकास भएको हुँदा त्यसका लागि निजि विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्ने काम गरिरहेको बताउनुभयो । अर्का बिशिस्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल ज्योतिपुञ्जले गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो ।प्याब्सन घोराही नगर अध्यक्ष बालकृष्ण वलिले शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माणका लागि लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारीले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीलाई नियमित रुपमा पठाउने, छोराछोरीको गृहकार्यको नियमिततामा ध्यान दिने, अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागि प्रेरित गर्ने, अभिभावक अन्तरक्रियामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येवाट वर्ष उत्कृष्ट अभिभावक बिधामा कमला परीयार, उत्कृष्ट स्वस्थकर खाजा पठाउने अभिभावक बिधामा बिपना अधिकारीलाई सम्मान गरिएको छ । यसैगरी विद्यालयमा सबैभन्दा कम विदा लिई नियमित रुपमा विद्यालयमा हाजिर हुने शिक्षक सिर्जना आचार्य, विशेष शिक्षककाे रुपमा लामो समयदेखि कार्यरत शिक्षकहरु मैना भण्डारी,रिमाभण्डारी र बिरमती बि.क. लाई सम्मान गरिएकाे थियाे साथै लामो समयदेखी कार्यरत कर्मचारी दामाेदर थापालाई कदर पत्र सहित सम्मान गरिएको छ ।