सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १२ पुस - दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १७ औं साधारणसभा तथा नवौं अधिवेशन घोराहीमा सम्पन्न भएको छ । संस्थाको आयोजनामा शनिबार घोराहीस्थित भिङ्ग्रेजी भिलेज रिसोर्टमा सो अधिवेशन सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस संस्था सक्रिय र उद्देश्यअनुरूप क्रियाशील रूपमा अघि बढिरहेको महसुस भएको बताउनुभएको थियो । उहाँले संस्थाले फोटोग्राफी पेसाको संरक्षण, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत बताउनुभयो ।
फोटोग्राफी पेसा केवल तस्बिर खिच्ने काम मात्र नभई इतिहास, तथ्य र प्रमाण सुरक्षित राख्ने अत्यन्तै महत्वपूर्ण माध्यम भएको उहाँले बताउनुभयो । विगतदेखि वर्तमानसम्म समाजका हरेक महत्वपूर्ण घटना, परिवर्तन र उपलब्धिलाई अभिलेख गर्ने काम फोटोग्राफीले गर्दै आएको भन्दै यसको महत्व समयसँगै अझ बढ्दै गएको समेत उहाँले स्पष्ट पार्नुभयो । नयाँ प्रविधिको तीव्र विकाससँगै फोटोग्राफी पेसामा विभिन्न चुनौती र समस्या देखा परेका छन्, डिजिटल प्रविधि, मोबाइल फोटोग्राफी र कृत्रिम बौद्धिकता जस्ता नवीन प्रविधिका कारण पेशागत फोटोग्राफरहरू प्रभावित भएको स्वीकार गर्दै उहाँले ती समस्याबाट निराश हुनुभन्दा पनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा उहाँको भनाइ थियो ।
नगर प्रमुख चौधरीले समस्या सँगसँगै समाधान पनि रहेको उल्लेख गर्दै उहाँले फोटोग्राफरहरू समयअनुकूल नयाँ प्रविधि, सीप र ज्ञानसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिवर्तनलाई आत्मसात् गर्दै पेशागत क्षमता अभिवृद्धि गरेमा फोटोग्राफी पेसाको भविष्य सुरक्षित र उज्यालो हुने उहाँको विश्वास थियो । फोटोग्राफी पेसाको समग्र विकास, व्यवसायिकरण र संरक्षणका लागि स्थानीय सरकार सधैँ सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै उहाँले नगरस्तरमा यस्ता सृजनात्मक र पेशागत गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गरिने समेत बताउनुभयो ।
नयाँ प्रविधिको प्रयोगमा जान नसक्दा फोटोग्राफी पेसा संकटतर्फ जान सक्ने नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष लुम्बिनी प्रदेश अध्यक्ष वसन्त जोशीले बताउनुभयो । उहाँले समय र प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा फोटोग्राफरहरू पनि सोहीअनुसार आफूलाई परिवर्तन गर्दै लैजान आवश्यक रहेको समेत बताउनुभयो । जोशीका अनुसार आधुनिक डिजिटल प्रविधि, नयाँ–नयाँ क्यामेरा प्रविधि, मोबाइल फोटोग्राफी, ड्रोन, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधिले फोटोग्राफीको क्षेत्रलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ । यस्ता प्रविधिलाई आत्मसात् नगरी पुरानै शैली र सोचमा सीमित रहँदा फोटोग्राफरहरू भविष्यमा प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।
उहाँले परम्परागत फोटोग्राफीसँगै नयाँ सीप, सिर्जनात्मक सोच र प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो । साथै, उहाँले फोटोग्राफरहरूको व्यावसायिक हक–हित संरक्षण, सीप विकास, तालिम तथा एकता मजबुत बनाउन नेपाल फोटोग्राफर महासंघसहित विभिन्न संस्था र संगठनहरू क्रियाशील रहेको जानकारी गराउनुभएको थियो । ती संस्थामार्फत निरन्तर तालिम, अनुभव आदान–प्रदान र सहकार्य गर्न सके फोटोग्राफी पेसा थप सुरक्षित, सम्मानित र दीगो बन्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल फोटोग्राफर महासंघका सचिव गणेश कुमार दंगालले फोटोग्राफी पेसा एक सर्वाेत्कृष्ट र सशक्त पेसा हो, जसलाई ऐनाजस्तै छर्लङ्ग रूपमा बुझ्न सकिने बताउनुभयो । ‘यो पेसाले समाजको यथार्थ अवस्था, भावना, पीडा, खुशी, संघर्ष र सुन्दरतालाई जस्ताको तस्तै प्रतिबिम्बित गछ, उहाँले भन्नुभयो– शब्दले व्यक्त गर्न नसक्ने कुरा फोटोग्राफीले एकै झलकमा देखाइदिन्छ ।’
सचिव दंगालको अनुसार फोटोग्राफरको आँखाले देखेको संसार नै समाजको ऐना हो—जहाँ सत्य लुक्दैन, बनावट टिक्दैन र वास्तविकता स्पष्ट देखिन्छ । यही कारण फोटोग्राफी पेसा कला, पत्रकारिता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट संगम मानिएको छ ।
संस्थाका उपाध्यक्ष नारायण विकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल फोटोग्राफर एसोसिएसन लुम्बिनी प्रदेशका सचिव कुमार तिवारी, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, मोबाइल व्यवसायी एसोसिएसन संघ दाङका अध्यक्ष कृष्ण पुन, गल्ला तथा किराना व्यवसाय संघ दाङका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त दिँदै पछिल्लो समय प्रविधिको विकाससँगै सबै व्यवसायीहरुमा चुनौती थपिएको गएको बताउनुभएको थियो । फोटो व्यवसायलाई थप समक्ष, सबल र उत्कृष्ट बनाउनका लागि प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उहाँहरुको जोड थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लक्ष्मण न्यौपाने गर्नुभएको थियो ।