सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचाैर, १४ पुस - बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभाको आठौं हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले विभिन्न कार्यविधि तथा विधेयकहरु सर्वसम्मत रुपमा पारित गरेको थियो ।पुस १३ र १४ गते दुई दिनसम्म सञ्चालन भएको दोस्रो गाउँसभाको हिउँदे अधिवेशनमा सात वटा कार्यविधि तथा विधेयकहरु प्रस्तुत भएका थिए । अधिवेशनमा प्रस्तुत भएका दुई वटा कार्यविधि र पाँच विधेयक गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएका थिए ।
अधिवेशनमा प्रस्तुत भएका बंगलाचुली गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षासम्बन्धी विधेयक २०८२, गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट कार्यक्रम संशोधन सम्बन्धी विधेयक २०८२, गाउँपालिकाको सार्वजनिक लेखा समितिको प्रतिवेदन सम्बन्धी विधेयक २०८२, गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को कार्यपालिका बैठकको निर्णय अनुमोदन सम्बन्धी विधेयक २०८२ र गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन सम्बन्धी विधेयक २०८२ गाउँसभाबाट सर्वसम्मत पारित भएको थियो । त्यस्तै अधिवेशनमा प्रस्तुत भएका बंगलाचुली गाउँपालिकाको गाउँसभा सचिवालय कार्य सञ्चालन कार्यविधि २०८२ र बंगलाचुली बेरुजु फर्च्यौट कार्यविधि २०८२ गाउँसभाबाट पारित भएका थिए ।
गाउँसभामा गाउँपालिका अध्यक्ष तुलसीराम पुनले गाउँसभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षासम्बन्धी विधेयक २०८२ प्रस्तुत गर्दै स्थानीय सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्ने दृढ संकल्पलाई व्यवहारमा रुपान्तरण गर्दै नागरिक सेवामा निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले स्थानीय कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयन, गाउँपालिकाको गुरुयोजना तथा योजनाको तर्जुमा गर्नका लागि संघ र प्रदेशको समन्वय तथा सहकार्यको प्रयासले पालिकालाई उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिनुभयो ।यस गाउँपालिकामा विद्यमान बहुल सामाजिक, साँस्कृतिक तथा भौगोलिक विविधता र विशिष्टता, पर्याप्त प्राकृतिक स्रोतसाधन रहेको भन्दै अध्यक्ष पुनले शासन, विकास र सेवा प्रवाहका कार्यमा नागरिकहरूको सक्रिय, रचनात्मक र स्वस्फर्त सहभागिताको ठूलो सम्भावना हँदाहँदै पनि भौगोलिक जटिलता, न्यून आन्तरिक आम्दानी, गरिबीको रेखामनि रहेका बिपन्न नागरिकहरूको बाहुल्यता, परम्परागत कषि तथा पशपालन प्रणाली, उद्योग- कलकारखाना, व्यापार-व्यवसायलगायत सेवा क्षेत्रमा बाह्य लगानीको न्यूनताका कारण अपेक्षाकृत बहुआयामिक विकास हासिल हुन नसकेको अवस्था रहेको बताउनुभएको थियो । पालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउनका लागि कानुन सम्बत रुपमा कामहरू भइरहेको समेत उहाँको भनाइ थियो ।
त्यस्तैगरी गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट कार्यक्रम संशोधन सम्बन्धी विधेयक २०८२, प्रस्तुत गर्दै पालिकाको ८७ वटा योजनाहरुको शीर्षकमा बजेट संशोधन भएको जानकारी दिनुभएको थियो । उहाँले पालिकाभित्र भएका योजनाहरुको कार्यसम्पादनको आधारमा कुनै योजनामा बजेट थप भएको र कुनै योजना बजेट घटाइएको समेत बताउनुभएको थियो । गाउँसभाको अधिवेशन गाउँपालिकाको सार्वजनिक लेखा समितिको प्रतिवेदन सम्बन्धी विधेयक २०८२, सार्वजनिक लेखा परीक्षण समितिका सभापति लोकबहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को कार्यपालिका बैठकको निर्णय अनुमोदन सम्बन्धी विधेयक २०८२ गाउँपालिका प्रवक्ता शोभाराम विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन सम्बन्धी विधेयक २०८२ न्यायिक समितिका संयोजक गणेश विश्वकर्माले गर्नुभएको थियो । बंगलाचुली गाउँपालिकाको गाउँसभा सचिवालय कार्य सञ्चालन कार्यविधि २०८२ मैते पुन र बेरुजु फर्च्यौट सम्बन्धी विधेयक विधायन समितिका सदस्य नारायणी गिरीले गर्नुभएको थियो ।