Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा नयाँ कर्मचारीलाई स्वागत

शुक्रबार, पुस १८, २०८२

मसुरिया, १८ पुस - दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।
पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आउनुभएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, पालिकाको समग्र विकासका लागि कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो।

उपाध्यक्ष चौधरीले कर्मचारीहरूको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुने आशा व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव, दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै, गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

पोख्रेललाई आजकै मितिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाईमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
समाचार