Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवामा नमूना युवा उद्यमी समूहको पहलमा विपन्न विद्यार्थीलाई सहयोग

आइतबार, पुस २७, २०८२

गढवा,२७ पुष - गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम अन्तर्गत गठित नमूना युवा उद्यमी समूह ६ र ७ का समूह सदस्यहरूको सक्रिय ५ जना विद्यार्थीहरुलाई सहयोग गरिएको छ।

गढवा गाउँपालिका–६ बालाखुट्टी स्थित बाल–बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब तथा असहाय विद्यार्थीहरूको पहिचान गरी पाँच जनालाई जाडोयाम लक्षित न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो।

जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाको अभावका कारण पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको सहभागीहरूले बताएका छन्। स्थानीय स्तरमा युवाहरूको सक्रियताले विपन्न बालबालिकाको शिक्षा र जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका शिक्षक राधा आचार्यले बताउनुभयो।

कार्यक्रमकै क्रममा के.भी. साझा पशुपंक्षी फर्मका प्रोप्राइटरद्वय बिन्ती राम यादव र बसन्ती चौधरीले सोही विद्यालयमा अध्ययनरत गढवा गाउँपालिका–६ बालाखुट्टी निवासी छात्रा रबिया खातुनको कक्षा १२ सम्मको सम्पूर्ण पठनपाठन खर्च व्यहोर्ने जिम्मेवारी लिने घोषणा गर्नुभएको छ।

उहाँहरूले खातुनको कपी–किताब, झोला, विद्यालय पोसाक, जुत्ता–चप्पल लगायत शैक्षिक तथा आवश्यक सम्पूर्ण खर्च कक्षा १२ सम्म निरन्तर रूपमा व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको हो।

नमूना उद्यमी युवा समूहका अध्यक्ष तिला भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरू, शिक्षक राधा आचार्य, भिटा परियोजनाकी सामुदायिक सहजकर्ता आशा श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

स्थानीय तह, युवा समूह र निजी क्षेत्रबीचको सहकार्यबाट सम्भव भएको यस किसिमको पहलले विपन्न समुदायका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा पनि भिटा परियोजना अन्तर्गत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिने भिटा परियोजनाकी सामुदायिक सहजकर्ता आशा श्रेष्ठले बताउनुभयो। साभार गणतन्त्र नेपाल

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
समाचार