लालमटिया महोत्सवमा खाद्य प्रविधिद्वारा अनुगमन

मंगलबार, पुस २९, २०८२

मसुरिया, २९ पुस - दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२ मा खाद्यवस्तु बिक्री–वितरण गर्ने स्टलहरूको अनुगमन गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले राप्ती गाउँपालिकाको समन्वयमा मंगलबार महोत्सव स्थलमा अनुगमन गरेको हो।

अनुगमन टोलीमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाई, राप्ती गाउँपालिकाका शेरबहादुर हमाल, प्रदिप खत्री, नारायण आर.सी. तथा राप्ती उद्योग वाणिज्य संघ भालुबाङका महासचिव बासुदेव न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

अनुगमनका क्रममा महोत्सवमा सञ्चालित ११ वटा होटल तथा खाजा–नास्ता पसल र ५ वटा दालमोठ, मिठाई तथा अचार बिक्री गर्ने स्टल गरी कुल १६ वटा खाद्य स्टलहरूको निरीक्षण गरिएको थियो।

खाद्य निरीक्षक गोसाईका अनुसार अनुगमनका क्रममा जेरीमा हाइड्रो राखिएको, मोटर तथा दालमोठमा अत्यधिक कृतिम रङ मिसाइएको, लेबल प्रत्यक्ष खाद्यवस्तुसँग सम्पर्कमा रहने गरी राखिएको तथा लेबलमा पूर्ण विवरण उल्लेख नगरी खाद्यवस्तु बिक्री वितरण गरिएको पाइएको छ। त्यस्तै,तेल पटकपटक प्रयोग गरिएको, फ्रिजमा खाद्यवस्तु भण्डारण गर्दा समेत केही कैफियत भेटिएको उहाँले जानकारी दिनुभयो।

अनुगमन टोलीले म्याद गुज्रिएका खाद्यवस्तु बिक्री नगर्न, खाद्य नियमले निषेध गरेका रङ तथा रसायन प्रयोग नगर्न, पूर्ण विवरणसहित लेबलिङ गरिएका खाद्यवस्तु मात्र बिक्री गर्न तथा सरसफाइ र स्वच्छता कायम गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको कार्यालयका खाद्य निरीक्षक गोसाईले बताउनुभयो।
त्यस्तै, अटेरी गरी नियम उल्लङ्घन गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार कडा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्