Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा माघ सांस्कृतिक महोत्सव तथा माघ मिलन कार्यक्रम : मौलिक कला, संस्कार र संस्कृति संरक्षणमा जोड

मंगलबार, माघ ६, २०८२

सिसहनियाँ, ६ माघ - दाङको राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँमा माघ सांस्कृतिक महोत्सव २०८२ तथा माघ मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ।

थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजनामा तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिका कार्यवाहक अध्यक्ष नेत्रराज चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि थारुले थारु समुदाय संस्कार र संस्कृतिमा अत्यन्तै धनी रहेको उल्लेख गर्दै थारु जातिको छुट्टै भाषा, भूगोल, भेषभूषा, अर्थतन्त्र र पहिचान रहेको बताउनुभयो। उहाँले जन्म, मृत्यु र विवाहजस्ता संस्कारहरू परम्परागत तथा वैज्ञानिक ढंगले सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो।

थारु समुदाय श्रम, कृषि तथा सिँचाइ प्रणालीमा आधारित शासन प्रणाली भएको समुदाय भएको उल्लेख गर्दै उहाँले थारु संस्कार, संस्कृति र भेषभूषा संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। साथै, थारु समुदायमा रहेका अलिखित सामाजिक निति नियमलाई लिखित कानुनका रूपमा विकास गर्न प्रदेश सरकारले बडघर ऐन ल्याउने तयारी गरेको जानकारी दिनुभयो। सम्भव भएसम्म उक्त ऐन आगामी माघ ८ गते बस्ने प्रदेशसभाबाट पारित हुने उहाँको भनाइ थियो।WhatsApp-Image-2026-01-19-at-21.03.33-1768865242.jpeg

त्यसैगरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै यसका लागि समुदाय स्वयं पनि जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले थारु समुदायको परम्परागत शासन प्रणाली, संस्कार र संस्कृति संरक्षणका लागि बडघर ऐन गाउँसभामा पेश गरिएको जानकारी दिँदै थप छलफल र आवश्यक संशोधनपछि राजपत्रमा प्रकाशन गरिने बताउनुभयो।

अध्यक्ष विष्टले थारु समुदायको उत्थानका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै थारु भाषा, संस्कार र संस्कृति संरक्षणमा विशेष जोड दिनुभयो। साथै, थारु समुदायको पहिचानका रूपमा रहेको थारु होमस्टेलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले थारु समुदाय कला, संस्कार र संस्कृतिमा धनी जाति भएको उल्लेख गर्दै त्यसलाई पर्यटनसँग जोडेर व्यवसायिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। बाहिरबाट आउने पाहुनालाई थारु संस्कार झल्किने परम्परागत आतिथ्य सत्कार र संरचना विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य हल्लु प्रसाद चौधरी, लक्ष्मी चौधरी, दाङ जिल्ला सभाका वरिष्ठ उपाध्यक्ष रामपति चौधरी, क्षेत्रीय सभापति गोकुल प्रसाद चौधरी, क्षेत्रीय सभाका पूर्व सभापति प्रकाश चौधरी, राप्ती गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष विद्याशरण चौधरी, प्रगन्नाकुलो सिँचाइ समितिका सचिव भिमलाल चौधरी, क्षेत्रीय सचिव यमबहादुर चौधरी तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

थारु कल्याणकारिणी सभाका क्षेत्रीय सदस्य कर्कट चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इकाई समितिका सचिव राजेन्द्र चौधरीले गर्नुभएको थियो।

साे अवसरमा झुमरा नाच प्रतियोगिता समेत आयोजना गरिएको थियो। पाँच समूह सहभागी प्रतियोगितामा राप्ती थारु होमस्टे समूह राप्ती–६ बगरापुर प्रथम, मिलन महिला समूह राप्ती–५ लठ्ठहवा द्वितीय, जागृति महिला समूह राप्ती–७ बड्का सिसहनियाँ तृतीय तथा किस्मत महिला समूह राप्ती–३ मसुरिया सान्त्वना भएका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहलाई क्रमशः ४ हजार ५ सय, ४ हजार, ३ हजार ५ सय र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने सान्त्वना समूहलाई यातायात खर्चबापत २ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०५:१२
प्रतिक्रिया दिनुहोस्