Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवा गाउँपालिका–७ मा जग्गा नापजाँच कार्य सुरु

बुधबार, माघ ७, २०८२

दाङ,७ माघ – भूमि समस्या समाधान आयोग दाङले गढवा गाउँपालिका वडा नं. ७ मा आजदेखि जग्गा नापजाँच कार्य सुरु गरेको छ। आयोगका दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले वडा नं. ७ को मानपुर गाउँबाट नापजाँच कार्यको औपचारिक शुभारम्भ गर्नुभएको हो।

जग्गा नापजाँच सुरु भएसँगै वडा नं. ७ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयवासीहरू खुसी देखिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले २०५२ सालपछि गठन भएका विभिन्न आयोगहरूले भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्न नसकेको बताउनुभयो। उहाँले वर्तमान आयोग गठन भएपछि दाङ जिल्लामा पुर्जा वितरण कार्य सुरु भइसकेको र यसले जनतामा जग्गाधनी बन्ने आशा जागेको उल्लेख गर्नुभयो। साथै, नापजाँच कार्यलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै आगामी तीन महिनाभित्र वडा नं. ७ मा पुर्जा वितरण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

कार्यक्रम गढवा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राहुल देव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा CSRC लमहीका प्रमुख रेमन्त चौधरी, आयोगका प्राविधिक कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा वडा नं. ७ का भूमिहीन नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्