Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध राप्तीमा माघ २५ देखि ‘एचपीभी’ खोप लगाइँदै

बुधबार, माघ १४, २०८२

भालुबाङ, १३ माघ - दाङको राप्ती गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध माघ २५ गतेदेखि ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिने भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पूरा गरेका छात्रालाई उक्त खोप दिइनेछ । अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत ५ सय २८ जना तथा विद्यालय बाहिर रहेका १७ जना गरी कुल ५ सय ४५ जना छात्रालाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ ।WhatsApp-Image-2026-01-27-at-20.07.24-(1)-1769595055.jpeg
 

मंगलबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रममा सो जानकारी दिइएको हो ।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार माघ २५ र २६ गते पालिका अन्तर्गतका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई खोप केन्द्र तोकी विद्यालयमै खोप सेवा प्रदान गरिनेछ । माघ २५ गते राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ, आदर्श नमुना विद्यालय लालमटिया, दुर्गा भवानी आधारभूत विद्यालय मसुरिया, माध्यमिक विद्यालय मौरीघाट, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा, शुभ दर्पण एकेडेमी बड्का सिसहनियाँ, शंकर माध्यमिक विद्यालय पिपरी र माध्यमिक विद्यालय रूपाकोटमा खोप सञ्चालन हुनेछ ।

त्यसैगरी माघ २६ गते लिटिल एन्जल स्कुल भालुबाङ, गोरखा आइडियल बोर्डिङ स्कुल लालमटिया, बीपी आधारभूत विद्यालय बसन्तापुर, सिरिनभ्याली पब्लिक स्कुल मौरीघाट, जनता माध्यमिक विद्यालय करङ्गेकोट र देवी आधारभूत विद्यालय मसेरिडाँडामा खोप सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
माघ २५ र २६ गते खोप लिन छुटेका छात्राहरूका लागि माघ २७ गते राप्ती आधारभूत अस्पताल कालापानी तथा लालमटिया स्वास्थ्य चौकी भालुबाङबाट खोप सेवा उपलब्ध गराइनेछ ।

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा ज्यान गुमाउने महिलाको संख्या बढ्दै गएको भन्दै उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गत वर्षदेखि देशव्यापी रुपमा एचपीभी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले पाठेघरको मुखको क्यान्सर महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै लक्षित उमेर समूहका सबै छात्रालाई समयमै खोप लगाउन अभिभावक तथा विद्यालय प्रशासनलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले खोप अभियान सफल बनाउन पालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले एचपीभी खोप सुरक्षित र प्रभावकारी रहेको बताउँदै लक्षित समूहका सबै छात्रालाई खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले अभियान सफल बनाउन स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्