Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

शुक्रबार, माघ १६, २०८२

मसुरिया, १६ माघ - दाङको राप्ती गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (Local Governance Performance Assessment System- LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

स्थानीय तहको समग्र कार्यसम्पादनलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई एउटै मञ्चमा राखी मूल्याङ्कन प्रणालीबारे साझा बुझाइ विकास गर्ने उद्देश्य राखिएको थियो।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अवधारणा, उद्देश्य तथा प्रयोगात्मक पक्षबारे जानकारी गराउनुभएको थियो। उहाँले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत क्षमता अभिवृद्धि गर्न एलजी पास प्रणाली महत्वपूर्ण प्रणालीका रूपमा रहेको उल्लेख गर्नुभयो।

यस प्रणालीले स्थानीय तहका सबल पक्ष र कमजोरी पहिचान गरी सुधारका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने उहाँको भनाइ रहेको छ।

कार्यक्रममा एलजी पास प्रणालीअन्तर्गतका विभिन्न सूचकहरू, हालको कार्यसम्पादन अवस्था, आवश्यक तथ्यांक संकलन विधि, प्रमाणिकरण प्रक्रिया तथा मूल्याङ्कन विधिबारे विस्तृत प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। सूचकहरू कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने विषय, अभिलेखीकरणको महत्व तथा समयमै तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकतामाथि समेत प्रकाश पारिएको थियो।

यस प्रणालीमार्फत गाउँपालिकाको प्रशासनिक, आर्थिक, सामाजिक तथा सेवा प्रवाहसँग सम्बन्धित समग्र कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन हुने अपेक्षा गरिएको छ।

मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा सेवा सुधार, योजना तर्जुमा तथा नीतिगत निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एलजी पास प्रणालीले स्थानीय सरकारलाई अझ उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउने धारणा व्यक्त गर्नुभयो।
उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमहरूले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कार्यसम्पादनप्रति थप जिम्मेवार बनाउँदै गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।WhatsApp-Image-2026-01-30-at-17.17.34-1769784701.jpeg

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
समाचार