Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवा–७ घोराहामा उद्यमी महिला समूहद्वारा सामूहिक प्याज खेती

शुक्रबार, माघ २३, २०८२

गढवा, २३ माघ - दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा उद्यमी महिला समूहले सामूहिक रूपमा प्याज खेती सुरु गरेका छन्। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित लालीगुराँस उद्यमी महिला समूहका सदस्यहरूले आयआर्जनका लागि सामूहिक प्याज खेती थालेका हुन्।

लालीगुराँस उद्यमी महिला समूहकी अध्यक्ष मञ्जु चौधरीका अनुसार २६ जना महिला सदस्यहरूले पालिका तथा भिटा परियोजनाको सहयोगमा १० कठ्ठा क्षेत्रफलमा प्याज खेती सुरु गरेका छन्। सामूहिक खेतीबाट महिलाहरूको आयआर्जन बढ्ने विश्वास गरिएको छ।

भिटा परियोजना अन्तर्गत गठन भएका उद्यमी महिला समूहहरूले गढवा गाउँपालिकाका विभिन्न वडाहरूमा राजमा खेती, बेसार खेती तथा धान खेती गर्दै आएका छन्। ती खेतीबाट समूहहरूलाई राम्रो आम्दानीसमेत भएको जनाइएको छ। यसैगरी वडा नम्बर ७ को विजयपुरमा गठित चेतनशील महिला उद्यमी समूहले सामूहिक रूपमा व्यवसायिक खेती गर्दै हालसम्म एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष गौरी बोहराले जानकारी दिए।

सामूहिक प्याज खेतीको अनुगमनका क्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामूहिक रूपमा व्यवसाय गर्ने उद्यमी महिला समूहहरूलाई गाउँपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने बताए। उहाँले भन्नुभयो, “महिला सशक्तिकरणलाई केन्द्रमा राख्दै गाउँपालिकाले कृषि, पशुपालन र व्यवसायिक उत्पादनमा तालिम, प्रविधि सहितको ज्ञान–सीप तथा उन्नत जातको बीउ, बोका र राँगा वितरण गर्दै आएको छ। यसको प्रत्यक्ष लाभ अहिले किसानहरूले पाइरहेका छन्।”

भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले भिटा परियोजनाको मुख्य उद्देश्य महिलालाई आत्मनिर्भर बनाउने रहेको बताए। उहाँले भन्नुभयो, “सामूहिक खेती र व्यवसायमार्फत महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यसहित परियोजना सञ्चालन गरिएको हो। प्याज खेतीजस्ता व्यवसायिक कार्यक्रमले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको छ।”

प्याज खेती गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। अनुगमन कार्यक्रममा भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, सामुदायिक सहजकर्ता जया विश्वकर्मा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्