Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकामा दोस्रो त्रैमासिक प्रगति समीक्षा सम्पन्न

मंगलबार, माघ २७, २०८२

मसुरिया, २६ माघ - दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यसम्पादनको अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विषयगत शाखा प्रमुखहरूले आआफ्नो शाखाबाट दोस्रो त्रैमासिक अवधिमा भएका भौतिक तथा वित्तीय प्रगति, चालु तथा सम्पन्न योजनाको अवस्था, सेवा प्रवाहको स्थिति तथा कार्यान्वयनमा देखिएका समस्या र चुनौतीबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

साे कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कामहरू निर्धारित लक्ष्य, मापदण्ड र समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो।WhatsApp-Image-2026-02-09-at-18.20.30-1770686768.jpeg

समीक्षा कार्यक्रमलाई पालिकाको कार्यसम्पादनको ऐनाको रूपमा उल्लेख गर्दै उहाँले योजनाको कार्यान्वयनमा ढिलासुस्ती नगर्न, गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगर्न र पारदर्शिता कायम गर्न जोड दिनुभयो।

साथै नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राख्दै वडा, शाखा तथा सरोकारवाला निकायहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।


त्यस्तै उपाध्यक्ष कमलापति चौधरीले समिक्षा कार्यक्रमले वास्तविक कार्यसम्पादन अवस्था उजागर गर्ने बताउँदै देखिएका कमजोरी समयमै सुधार गर्नुपर्नेमा जोड दिनुभयो। वडा र विषयगत शाखाबीच समन्वय सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले चालु आर्थिक वर्षको लक्ष्य प्राप्तिका लागि समयमै योजना सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै शाखागत समन्वय, नियमित अनुगमन तथा वित्तीय अनुशासनमा जोड दिन निर्देशन दिनुभयो।

समीक्षा कार्यक्रमबाट पालिकाको समग्र कार्यसम्पादनमा देखिएका चुनौती पहिचान गर्दै आगामी दिनमा सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

राप्ती गाउँपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित नियमित रूपमा प्रगति समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्