सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा, २९ माघ - “समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गढवा गाउँपालिकाका पाँच वडामा समुदायस्तरमा नसर्ने रोग (NCD) सम्बन्धी स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ। ३० वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई लक्षित गरी प्रमुख नसर्ने रोगहरूको रोकथाम र प्रारम्भिक पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो।a
कार्यक्रम गढवा गाउँपालिकाको वडा नं. १, ३, ५, ६ र ८ का विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन भइरहेको छ। स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार वडा नं. १ स्थित गोबरडिया स्वास्थ्य चौकीमा २ हजार ९ सय ७८ जना, वडा नं. ३ को गोबरडिया आधारभूत स्वास्थ्य केन्द्रमा ४ हजार ६ सय ९३ जना, वडा नं. ५ को गंगाप्रस्पुर स्वास्थ्य चौकीमा ५ हजार ७ सय २७ जना, वडा नं. ६ को गढवा स्वास्थ्य चौकीमा ५ हजार ९ सय ९६ जना तथा वडा नं. ८ को कोइलाबास स्वास्थ्य चौकीमा ३ सय ५८ जनालाई स्क्रिनिङ गरिने लक्ष्य तय गरिएको छ।
समुदायमा नसर्ने रोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत ३० वर्षमाथिका लक्षित जनसंख्या १९ हजार ७ सय ५२ जना रहेका छन्। तीमध्ये पहिलो चरणमा पाँच वडाबाट करिब ९ हजार जनाको स्क्रिनिङ गरिने जनाइएको छ।
स्क्रिनिङ कार्यक्रमको कार्यतालिका अनुसार फागुन २८ गते गोबरडिया स्वास्थ्य चौकी (जेठान गाउँ), माघ २९ गते गोबरडिया आधारभूत स्वास्थ्य केन्द्र (वडा नं. ३), फागुन १ गते गंगाप्रस्पुर स्वास्थ्य चौकी, फागुन ४ गते गढवा स्वास्थ्य चौकी र फागुन ५ गते कोइलाबास स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन गरिनेछ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा जिल्ला स्वास्थ्य कार्यालय दाङको समन्वयमा सुरु भएको कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो।
यसैक्रममा मंगलबार गोबरडिया स्वास्थ्य चौकी, जेठान गाउँमा सम्पन्न स्क्रिनिङ कार्यक्रममा २ सय ३९ जनाले सेवा लिएको जनस्वास्थ्य अधिकृत मनिशा गैरेले जानकारी दिनुभयो।
समुदायमै पुगेर प्रारम्भिक जाँचमार्फत नसर्ने रोगको समयमै पहिचान र नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साभार : गणतन्त्र नेपाल