सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सिसहनियाँ,२९ माघ - दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना कार्यक्रम अभियानकै रूपमा सुरु गरेको छ। “समयमै नसर्ने रोग जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने नारासहित बिहीबारदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
अभियानको पहिलो दिन वडा नं. ६ स्थित पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईमा शिविर सम्पन्न भएको छ। शिविरमा ८७ पुरुष र २ सय १४ महिला गरी कुल ३ सय १ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। सहभागीहरूलाई नसर्ने रोगका प्रकार, कारण, लक्षण, रोकथामका उपाय तथा स्वस्थ जीवनशैली अपनाउने तरिकाबारे समेत जानकारी गराइएको थियो।
राप्ती गाउँपालिकाको आयोजनामा तथा स्वास्थ्य कार्यालय दाङको समन्वयमा ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा क्यान्सरजस्ता नसर्ने रोग बढ्दो क्रममा रहेकाले समयमै परीक्षण र परामर्श आवश्यक भएको हो। शिविरमा मधुमेह र उच्च रक्तचाप परीक्षण, मिर्गौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण, उचाइ–तौलका आधारमा बीएमआई मापन, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी परामर्श, उपचार तथा आवश्यक प्रेषण सेवा प्रदान गरिएको थियो।
पहिलो चरणअन्तर्गत वडा नं. ६ बाट सुरु भएको अभियान फागुन २ गते वडा नं. ७ को बड्की सिसहनियाँ आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी, फागुन ४ गते वडा नं. ८ को सामुदायिक बहुउद्देश्यीय भवन पिपरी तथा फागुन ५ गते वडा नं. ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन गरिनेछ। पहिलो चरणमा ५ वटा वडामा कार्यक्रम सञ्चालन गरी त्यसपछि क्रमशः सबै वडा तथा घना बस्तीमा विस्तार गरिने जनाइएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मिर्गौला खराबीजस्ता दीर्घ रोग बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै खानपान, जीवनशैली र नियमित शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। “धेरै रोगहरू के खाने, कति खाने, कसरी खाने भन्ने ज्ञानको अभावका कारण लाग्ने गरेका छन्,” उहाँले भन्नुभयो। उहाँले बाहिरबाट स्वस्थ देखिने मानिसहरूको पनि उच्च रक्तचापकै कारण एक्कासी मृत्यु हुने घटना सुनिन थालेको उल्लेख गर्दै समयमै रोग पहिचान गर्नु नै शिविरको मुख्य उद्देश्य रहेको बताउनुभयो। बिरामी भएपछि मात्र स्वास्थ्य जाँच गराउने प्रचलन अन्त्य गर्दै समय–समयमा नियमित परीक्षण गराउनुपर्ने उहाँको जोड थियो। अध्यक्ष विष्टले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकको शिविरस्थलमा पुगेर सेवा लिन आग्रह गर्दै रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हुने बताउनुभयो। “पालिकाका सबै नागरिकलाई स्वस्थ राख्नु नै स्थानीय सरकारको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो,” उहाँले उल्लेख गर्नुभयो।
समयमै रोग पहिचान भएमा उपचार सहज हुने, पैसा र समयको बचत हुने तथा जटिलता कम गर्न सकिने विश्वास व्यक्त गरिएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार राप्ती गाउँपालिकामा ३० वर्षभन्दा माथिका करिब २२ हजार जनसंख्या रहेका छन्।
शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, वडा नं. ६ का वडा अध्यक्ष दिपक कुमार चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती आधारभूत अस्पताल कालापानीका डा. रञ्जित घिमिरे, स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्नोलोजिष्ट उज्ज्वल कुमार पौडेल लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।