Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका जिल्लामा फेरि अब्बल, देशभर नवौं स्थान

शुक्रबार, फागुन १, २०८२

दाङ, २९ माघ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजामा दाङको राप्ती गाउँपालिका पुनः जिल्लामै अब्बल सावित भएको छ। यससँगै राप्ती गाउँपालिका चौथो पटक दाङ जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको हो।

आयोगका अनुसार राप्ती गाउँपालिका ७७.४६ अंकसहित जिल्लाका १० स्थानीय तहमध्ये पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा शान्तिनगर गाउँपालिका र तेस्रोमा लमही नगरपालिका रहेका छन्। त्यसपछि क्रमशः बङ्गलाचुली गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका रहेका छन्। राजपुर गाउँपालिका जिल्लामै सबैभन्दा कमजोर देखिएको छ।

देशभरका ७ सय ५३ स्थानीय तहहरूमध्ये राप्ती गाउँपालिका नवौं स्थानमा पर्न सफल भएको छ। संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि आयोगले विभिन्न १७ वटा सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। एक सय पूर्णाङ्कमा आधारित मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याउने स्थानीय तहलाई उत्कृष्ट ठहर गरिन्छ।
मूल्यांकनका आधारहरूमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित अवस्था, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम समयमै प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्च स्थिति, बेरुजु अवस्था, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिलाको अनुपात, एसईई परीक्षा नतिजा तथा पूर्ण खोप सुनिश्चितता लगायतका सूचक समेटिएका छन्।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यो उपलब्धि सामूहिक प्रतिबद्धता, पारदर्शिता र परिणाममुखी कार्यशैलीको प्रतिफल भएको उल्लेख गर्दै सम्पूर्ण राप्तीवासी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सरोकारवालामा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र समृद्ध राप्ती निर्माणतर्फ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।WhatsApp-Image-2026-02-12-at-21.33.41-(1)-1770947450.jpeg

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्