सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही,२९ फागुन-दाङ-घोराही बनाऔं अभियानले घोराही–१६ सर्रामा रहेको बाल अस्पताल सञ्चालन र संरक्षण गर्न माग गरेको छ । अभियानको टोलीले अस्पतालको स्थलगत अनुगमन पश्चात् जिल्ला प्रशासन कार्यालय, सम्बन्धीत अस्पतालका पदाधिकारीहरुलाई भेटेर यस्तो माग गरेको हो ।
अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा पुगेको टोलीले अस्पतालको भवन जीर्ण हुँदै गएको, अस्पताल परिसर झारजंगलले भरिएको र लामो समयदेखि अस्पताल बन्द हुँदा बाल स्वास्थ्य सेवाको पहुँचबाट बालबालिबाहरु बञ्चित भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र समेत बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले यस विषयमा छिटै नै विशेष छलफल र कार्यक्रम गरिने बताउनुभयो यसैगरी यस विषयमा अस्पतालका अध्यक्ष प्रदीप योगी र अन्य सरोकारवालाहरुसँग पनि घोराही बनाऔं अभियानले भेटघाट गरेको छ । अस्पतालको भवन संरक्षण गर्ने र अस्पताल पुनः सञ्चालन गर्ने सन्दर्भमा अस्पतालको कार्य समिति, सरोकारवाला निकायसँग विशेष छलफल गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२०६६ सालमा खुलेको उक्त बाल अस्पतालमा भारतीय दुताबास, नेपाल सरकार अनि विभिन्न दाताहरुको करोडौ रुपैयाँ खर्च भैसकेको छ । दुईतले सुविधासम्पन्न पक्की भवन र प्रशस्त जमिन समेत रहेको अस्पताल सूचारु हुन सके सबैलाई राम्रो हुने स्थानीयबासीहरुको भनाइँ छ । जिल्ला प्रशासनमा बुझाइएको ज्ञापनपत्रको पूर्ण पाठ श्री प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय लुम्बिनी प्रदेश, घोराही, दाङ विषय : बाल अस्पताल भवनको संरक्षण र पुर्न सञ्चालन सम्बन्धमा महोदय, दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । दाङको सदरमुकामकारुपमा रहेको घोराही नेपालकै सबै भन्दा ठूलो उपमहानगरपालिका हो । शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक सेवाहरुमा दाङले क्रमशः विकास गरिरहेको छ । यहीक्रममा दाङलगायत यसको वरपर रहेका जिल्लालाई लक्षित गरेर घोराही उपमहानगरपालिका वडा नम्वर १६ सर्रामा विभिन्न व्यक्ति, सामाजिक संघसंस्थाको सक्रियतामा
बालबालिकालाई विशेषज्ञ बाल स्वास्थ्य सेवा दिने उद्देश्यले २०६६ सालमा उमा शंकर बाल अस्पताल सञ्चालन गरिएको थियो । केही समय उक्त बाल अस्पतालमा सेवा प्रवाह गरिएपनि केही वर्षदेखि उक्त अस्पताल बन्द रहेको छ । लामो समयदेखि भवनमा आवतजावत नभएपछि पक्की घर जीर्ण हुँदै गएको छ भने झ्याल ढोकाका सिसा, पल्लाहरु फुटेका छन् । तसर्थ उक्त बाल अस्पतालको भवन संरक्षण, अस्पताललाई पुर्न जीवन दिनका लागि सर्वपक्षीय भेला बोलाएर छलफल गरी व्यवस्थितरुपमा अस्पताल सञ्चालन गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोधसहित यो ज्ञापनपत्र मार्फत जोडदार माग गर्दछौं । अस्पताल सञ्चालनका लागि हामी पनि सहयोगीको भूमिका खेल्न तत्पर रहनेछौं । धन्यवाद । सविन प्रियासन (संयोजक) घोराही बनऔं अभियान