Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

लमहीमा ‘मेयर कप’ सुरु: तीन खेलका प्रतियोगिता एकैसाथ सुरु

सोमबार, चैत १६, २०८२

दाङ,१६ चैत – लमहीमा ‘मेयर कप’ खेलकुद प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरू एकैसाथ सञ्चालनमा आएका छन् ।

प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नु भएको हो । उद्घाटनसँगै सुरु भएको चौथो ब्याडमिन्टन प्रतियोगितामा २२ वटा समूहले भाग लिएका छन । पाँचौं टि २० क्रिकेट प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने छन ।

सूर्योदय युवा क्लव लमही नगरपालिका ३ को आयोजनामा लमहीको रातो डाँडास्थित कभर्डहलमा, देउखुरी क्रिकेट युवा क्लवको आयोजनामा देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता र न्यू डाँफे युवा क्लव लमही नगरपालिका ४ को आयोजनामा लमही नगरपालिका ६ को सिसौ बगैरमा यी प्रतियोगिता हुदै छन ।

आजदेखि सञ्चालन भइरहेको ब्याडमिन्टन प्रतियोगितामा २२ समूह, फुटबल प्रतियोगितामा १२ टोली र क्रिकेट प्रतियोगितामा ८ वटा क्लवहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले युवापुस्ताको मागलाई ध्यानमा राख्दै ‘मेयर कप’लाई निरन्तरता दिइएको बताउनु भयो । विगतमा केही कारणले रोकिएको प्रतियोगितालाई अबदेखि प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

क्रिकेट मैदानको सरसफाइ र मर्मतसम्भारमा राज्यले लगानी गरेको उल्लेख गर्दै उहाँले यस मैदानले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो । सीमित स्रोतसाधनका बाबजुद प्रतियोगिता आयोजना गरिएको भन्दै उहाँले आगामी दिनमा विभिन्न खेलका लागि आवश्यक बजेट नगरसभामार्फत विनियोजन गरिने जानकारी दिनु भयो ।

नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सक्रिय बनाउने बताउँदै क्रिकेट मैदानको व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनु भयो । साथै उहाँले फुटबल र ब्याडमिन्टनजस्ता खेलबाट पनि देशको समृद्धिमा योगदान पुग्न सक्ने धारणा राख्नु भयो ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगर, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।

देउखुरी क्रिकेट क्लबका अध्यक्ष प्रकाशकुमार जिसीको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव प्रेम पुलामीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन प्रकाश सुवेदीले गर्नु भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्