शान्तिनगरमा अध्यक्षकप खेलकुद प्रतियोगिता वैशाख ४ देखि सुरु

मंगलबार, चैत २४, २०८२

शान्तिनगर,२४ चैत - शान्तिनगर गाउँपालिकाले आगामी वैशाख ४ गतेदेखि अध्यक्षकप खेलकुद प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता भलिबल, फुटबल र क्रिकेट विधामा सञ्चालन हुनेछ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँ शिक्षा समिति तथा अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालन समितिको निर्णयअनुसार आयोजना हुन लागेको प्रतियोगितामा शान्तिनगर गाउँपालिका–१ देखि ७ नम्बर वडासम्मका टोलीहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागी टोलीहरू वडा स्तरीय समन्वयमार्फत प्रतियोगितामा सहभागी हुने व्यवस्था मिलाइएको छ।

प्रतियोगिता श्री माध्यमिक विद्यालय तुलसीपुर धनेरी, शान्तिनगर–७ स्थित खेलमैदानमा सञ्चालन हुनेछ। टोली दर्ताका लागि आवश्यक कागजातसहित चैत २७ गतेभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा विवरण पेश गर्न अनुरोध गरिएको छ।

पुरस्कार व्यवस्था

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छः

  • भलिबलतर्फ: प्रथम २०,०००, द्वितीय १५,०००, तृतीय १०,००० रुपैयाँ
  • फुटबलतर्फ: प्रथम ३०,०००, द्वितीय २०,०००, तृतीय १५,००० रुपैयाँ
  • क्रिकेटतर्फ: प्रथम ३०,०००, द्वितीय २०,०००, तृतीय १५,००० रुपैयाँ

यसका अतिरिक्त उत्कृष्ट खेलाडीहरूलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ। फुटबलतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता, क्रिकेटतर्फ उत्कृष्ट विकेट लिने र सर्वाधिक रन बनाउने खेलाडीलाई जनही २,००० रुपैयाँ तथा भलिबलतर्फ उत्कृष्ट ३ खेलाडीलाई जनही २,००० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सहभागिताका सर्तहरू

प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले खेलाडीहरूको नागरिकता वा अन्य आधिकारिक परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। भलिबलमा ९, फुटबलमा १५ र क्रिकेटमा १५ जना खेलाडी दर्ता गर्न सकिनेछ। खेलाडीहरूले एउटै विधामा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

खाना, खाजा तथा बसोबासको व्यवस्था सहभागी टोलीले आफैं गर्नुपर्नेछ भने प्रतियोगितासम्बन्धी सम्पूर्ण निर्णय आयोजक समितिको अन्तिम हुने सूचनामा उल्लेख छ।

गाउँपालिकाले खेलकुदमार्फत युवाहरूलाई प्रोत्साहन गर्दै स्थानीयस्तरमा खेल प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
समाचार