सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
शान्तिनगर,११ बैशाख - दाङको शान्तिनगर गाउँपालिका स्तरीय आठौँ अध्यक्षकप खेलकुद प्रतियोगिता–२०८२/८३ अन्तर्गत भलिबल, क्रिकेट र फुटबल विधाका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन्। गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा युवा खेलाडीहरूको उपस्थितिमा समापन समारोह भव्य रूपमा सम्पन्न भएको हो।
प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडाबाट ३ विधाअन्तर्गत कुल २१ खेल आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा २७३ जना खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताको नतिजा अनुसार भलिबलतर्फ वडा नं. ३ प्रथम, वडा नं. १ द्वितीय र वडा नं. ४ तृतीय भएका छन्। क्रिकेटतर्फ वडा नं. ६ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. ४ तृतीय भएका छन् भने फुटबलतर्फ वडा नं. ३ प्रथम, वडा नं. २ द्वितीय र वडा नं. ७ तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
व्यक्तिगततर्फ भलिबलमा वडा नं. ३ का अनुप नेपाली उत्कृष्ट खेलाडी घोषित भए भने भिम थापा उत्कृष्ट सेटर र वडा नं. १ का अर्जुन घर्ती उत्कृष्ट स्पाइकर घोषित भए। फुटबलतर्फ वडा नं. २ का रुपेश बोहोरा उत्कृष्ट खेलाडी, वडा नं. ३ का कुमार चपाई र वडा नं. ७ का ॐ प्रकाश जैशी सर्वाधिक गोलकर्ता तथा वडा नं. ३ का भुपेन्द्र खड्का उत्कृष्ट गोलरक्षक घोषित भए।
क्रिकेटतर्फ वडा नं. २ का सबिन वली प्लेयर अफ द सिरिज घोषित हुँदा वडा नं. ४ का आयुष केसी उत्कृष्ट ब्याट्सम्यान र सम्पन्न केसी उत्कृष्ट बलर घोषित भएका छन्।
विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, कप, मेडल र ट्रफी प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ भने सहभागी सम्पूर्ण खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना दिइएको छ।