सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,१९बैशाख - आफ्नो सिर्जना र लगानीमा तयार पारिएको भित्तेपात्रो (क्यालेन्डर) को डिजाइन र सामाग्री अनुमति बिना नै चोरी गरेको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रेशन कार्यालयमा उजुरी परेको छ।
'वैदिक पूजा सामग्री भण्डार' तथा 'ज्योतिष तथा वास्तु विज्ञान केन्द्र' नेपालगन्जकी सञ्चालक सुमिता ज्ञवालीले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको दाबी गर्दै उजुरी दर्ता गराउनुभएको हो।
को-को छन् विपक्षी?
ज्ञवालीले दर्ता गरेको उजुरीमा ज्योतिष् परिषद् नेपालका तीन जना जिम्मेवार पदाधिकारीहरूलाई विपक्षी बनाइएको छ:
१. मेघराज आचार्य (अध्यक्ष)
२. केशव गौतम (महासचिव)
३. कमल प्रसाद भट्टराई (उपाध्यक्ष)
के हो घटना?
निवेदक ज्ञवालीका अनुसार उहाँले लामो समयदेखि ज्योतिष तथा वास्तु विज्ञानको क्षेत्रमा आवद्ध रही आफ्नै लगानीमा 'वैदिक ज्योतिष भित्तेपात्रो' प्रकाशन गर्दै आउनुभएको थियो। तर, यस वर्ष (वि.सं. २०८३) का लागि आफूले निकै मेहेनतका साथ तयार पारेको मौलिक डिजाइन, लेआउट र सामग्रीहरू विपक्षीहरूले अनुमति बिना हुबहु चोरी गरी ज्योतिष् परिषद् नेपालको नाममा प्रकाशन गरेको उहाँको आरोप छ।
"जिम्मेवार पदमा रहेका व्यक्तिहरूले मेरो बौद्धिक सम्पत्ति चोरी गरी मलाई आर्थिक तथा मानसिक क्षति पुर्याएका छन्। उक्त डिजाइनको आधिकारिकता पुष्टि गर्ने प्रमाणहरू (डिजाइन फाइल र मुद्रण सम्बन्धी कागजात) मसँग सुरक्षित छन्," उजुरी पत्रमा उल्लेख गरिएको छ।
माग र कारबाहीको माग
निवेदकले आफ्नो सिर्जनाको चोरी गर्ने र प्रतिलिपि अधिकारको उल्लंघन गर्ने विपक्षीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिई आवश्यक छानबिन गर्न माग गर्नुभएको छ। साथै, सो अनधिकृत प्रकाशनलाई तुरुन्त रोक लगाउन र आफूलाई उचित क्षतिपूर्ति दिलाउन समेत प्रशासनसँग विनम्र अनुरोध गर्नुभएको छ।
ज्ञवालीले प्रमाणका रूपमा आफूले तयार पारेको सक्कल भित्तेपात्रो, विपक्षीले प्रकाशन गरेको प्रतिलिपि र मुद्रण सम्बन्धी बिलहरू समेत कार्यालयमा बुझाउनुभएको छ। यस विषयमा विपक्षी तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।