सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, ३१ बैशाख - दाङको राप्ती गाउँपालिका र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरपालिका स्तरीय सिकाइ आदान–प्रदान कार्यक्रम बिहीबार मसुरियामा सम्पन्न भएको छ।
कार्यक्रममा कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद् व्यवस्थापनलाई घटना पछिको प्रतिक्रिया मात्र नभई पूर्वतयारी, जनचेतना र समन्वयसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताउनुभयो।
“प्राकृतिक विपद् जुनसुकै बेला आउन सक्छ, त्यसैले स्थानीय सरकारले पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीय तहहरूले एकअर्काका सफल अभ्यास र अनुभवबाट सिक्दै अघि बढ्न सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सहज हुन्छ।”
अध्यक्ष विष्टले राप्ती गाउँपालिकाले समुदायस्तरमा विपद् सचेतना, पूर्वसूचना प्रणाली तथा प्रतिकार्य योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले विपद् व्यवस्थापनमा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विपद् आएपछि मात्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय सरकारले योजनाबद्ध रूपमा विपद् व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले यस्ता सिकाइ आदान–प्रदान कार्यक्रमले स्थानीय तहबीच सहकार्य र अनुभव साटासाटलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले विपद् व्यवस्थापनमा स्थानीय तहहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै फरक–फरक अभ्यास र अनुभवले नयाँ सिकाइ प्रदान गर्ने उल्लेख गर्नुभयो।
त्यसैगरी शुक्लाफाँट नगरपालिकाकी उपप्रमुख कल्पना जोशीले विपद् न्यूनीकरणमा जनप्रतिनिधि, कर्मचारी तथा समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
चुरे गाउँपालिकाकी उपाध्यक्ष धनादेवी थापा मगरले स्थानीय तहहरूले गरेका अभ्यास, चुनौती र उपलब्धि साझा गर्दा आगामी कार्ययोजना निर्माणमा सहज हुने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय तहहरूबीच सम्बन्ध सुदृढ हुनुका साथै प्रभावकारी अभ्यास विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी अभ्यास र अनुभव आदान–प्रदान गरेका थिए।
कार्यक्रमले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र सिकाइ विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।