सडक सीमा अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम

बिहीबार, जेठ ७, २०८३

cb30b470-3dd4-4819-b8b4-f6ea01d0b96a-1779368006.jpg
दाङ, ७ जेठ - सडक डिभिजन कार्यालय दाङले सडक सीमा (राइट अफ वे) अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।


कार्यालयले आज बिहिबार एक सूचना जारी गर्दै सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक सीमाभित्र बनाइएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा गम्भीर असर परेको जनाएको हो ।

कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैं हटाई सडक सीमा खाली गर्नुपर्नेछ । अन्यथा प्रचलित कानून अनुसार कार्यालयले ती संरचना हटाउने र लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने चेतावनी दिइएको छ ।


सडक डिभिजन दाङ अन्तर्गतका पर्ने महेन्द्र राजमार्गको धन्खोला–शिवखोला सडक खण्ड, हुलाकी राजमार्गको गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको सितलपाटी–खलंगा–बालुवासंग्रही सडक खण्ड, घोराही–तुलसीपुर–काल्चे सडक खण्ड लगायतका क्षेत्र रहेका छन् ।


त्यसैगरी भालुबाङ–गनाहा सडक, कोइलाबास–लमही–घोराही सडक, राप्ती राजमार्गको अमेलिया–तुलसीपुर–सितलपाटी–खोलापास सडक तथा थारमारे–चौरजहारी सडक खण्डमा पनि सडक सीमा अतिक्रमण हटाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १८:४५
प्रतिक्रिया दिनुहोस्
समाचार