दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

आइतबार, जेठ १७, २०८३

मसुरिया, १६ जेठ - दाङको  राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाेजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख  नारायण राउतका अनुसार पालिकाभित्र १६ महिनादेखि २३ महिनासम्म तथा २४ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक  प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बालबालिकाको स्वास्थ्य अधिकारसँग जोडिएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले गाउँपालिकाले सबै वडामा प्रभावकारी रूपमा खोप सेवा पु¥याई राष्ट्रिय मापदण्डअनुसारको कार्य सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम नभई सम्पूर्ण समुदाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको साझा मेहनत, समर्पण र प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो।

उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सम्मान व्यक्त गर्दै गाउँका टोल–टोल, बस्ती–बस्ती र घर–घरमा पुगेर स्वास्थ्य सचेतना फैलाउने तथा खोप अभियानलाई सफल बनाउन निरन्तर खटिने स्वयंसेविकाहरू समाजका मौन नायक भएको उल्लेख गर्नुभयो। 

त्यस्तै सम्पूर्ण स्वास्थ्यकर्मीहरूको पेशागत दक्षता, सेवाभाव र जिम्मेवारीबोधका कारण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उहाँले भनाई थियो।

अध्यक्ष विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको उल्लेख गर्दै स्वस्थ बालबालिका नै समृद्ध समाजका आधार भएको धारणा राख्नुभयो। साथै स्थानीय सरकारले जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी सेवा प्रवाह, स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको क्षमता अभिवृद्धि र स्वास्थ्य पहुँच विस्तारका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्याेती वलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी दिनुभएको थियो।

सो अवसरमा गाउँपालिकाका नाै वटै वडालाई पूर्ण खोप सुनिश्चितताका प्रमाणपत्र प्रदान गरिएको थियो। साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै लालमटिया स्वास्थ्य चौकी भालुबाङका खोप फोकल पर्सन मुना खड्का  र देविकोट स्वास्थ्य इकाईका अहेब यज्ञबहादुर कार्कीलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष गेम बहादुर खड्का,वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारी , वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर , वडा सदस्यहरू मनबहादुर पुन,विष्णु पाेख्रेल,सुन्दर शाही,राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर सुशील केसी, शिक्षा, युवा तथा खेलकुद शाखाकी देवी मल्ल लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्