सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१९जेठ - दाङकाे बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई थप सहभागितामूलक र आवश्यकतामुखी बनाउन सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि तय गरिने नीति, कार्यक्रम र बजेट सम्बन्धमा नागरिक तथा विभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव संकलन गरिने जनाएको हो। गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरद्वारा हस्ताक्षरित सूचनामा प्राप्त सुझावलाई आगामी योजना तथा बजेट तर्जुमा प्रक्रियामा उपयोग गरिने उल्लेख गरिएको छ।
सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना राय, सुझाव र प्राथमिकताका विषयहरू २०८३ साल जेठ २५ गतेभित्र गाउँपालिकाको कार्यालय, प्रशासन शाखा वा तोकिएको इमेल ठेगानामा पठाउन सक्नेछन्। गाउँपालिकाले सुझाव पठाउनका लागि [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई नीति तथा बजेट निर्माणमा नागरिक सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुरूप बंगलाचुली गाउँपालिकाले पनि बजेट निर्माणअघि विभिन्न सरोकारवालासँग सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको देखिन्छ। यसले स्थानीय आवश्यकताको पहिचान, विकास प्राथमिकताको निर्धारण तथा सार्वजनिक स्रोतको प्रभावकारी परिचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। स्थानीय तहको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, सामाजिक सुरक्षा लगायतका विषयमा प्राप्त सुझावले आगामी वार्षिक कार्यक्रमलाई थप यथार्थपरक र जनमुखी बनाउन मद्दत पुग्ने विश्वास गाउँपालिकाको छ।
स्थानीय तहहरूले प्रत्येक वर्ष असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्ने, स्रोतको आकलन गर्ने र स्थानीय आवश्यकता पहिचान गर्ने प्रक्रिया सञ्चालन गरिन्छ। यस क्रममा नागरिक र सरोकारवालाबाट प्राप्त सुझावलाई महत्वपूर्ण आधारका रूपमा लिने अभ्यास बढ्दै गएको छ। बंगलाचुली गाउँपालिकाको पछिल्लो आह्वानलाई पनि स्थानीय शासनमा सहभागितामूलक अभ्यासको एक हिस्सा मानिएको छ। विकासका योजना र बजेट जनताको वास्तविक आवश्यकता तथा अपेक्षाअनुसार निर्माण हुनुपर्ने माग बढिरहेका बेला गाउँपालिकाले खुला रूपमा सुझाव आह्वान गरेको हो। यसबाट स्थानीय समुदायको आवाज नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा समेटिने र विकास योजनाप्रति स्वामित्वबोधसमेत बढ्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले निर्धारित समयभित्र सुझाव उपलब्ध गराई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी, समावेशी र परिणाममुखी बनाउन सहयोग गर्न सम्पूर्ण सरोकारवालासँग अनुरोध गरेको छ।