राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका बनाउने तयारी

बिहीबार, जेठ २१, २०८३

मसुरिया, २१ जेठ - दाङको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका प्रतिनिधि सुदीप शर्माले गुणस्तरीय सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा गुणस्तर व्यवस्थापन प्रणाली अवलम्बन गर्दा स्थानीय सरकारको सेवा प्रवाह थप पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बन्ने विषयमा छलफल गरिएको थियो। साथै पालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न आवश्यक प्रक्रिया, मापदण्ड र तयारीका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गुणस्तरीय सेवा प्रवाह र सुशासन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नागरिकलाई प्रभावकारी, छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित आवश्यक सुधारका कार्यहरू अघि बढाइने उल्लेख गर्नुभयो।

अध्यक्ष विष्टले आफ्नो कार्यकालभित्र राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्ने स्थानीय तहका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुणस्तर व्यवस्थापन प्रणालीलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाइने बताउनुभयो।WhatsApp-Image-2026-06-04-at-18.20.37-(2)-1780583225.jpeg

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणले संस्थागत क्षमता अभिवृद्धि, कार्यसम्पादनको प्रभावकारिता तथा सेवा प्रवाहको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले कर्मचारी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता र प्रतिबद्धताबाट पालिकाले गुणस्तरीय प्रशासनिक अभ्यासलाई आत्मसात् गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुखलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
समाचार