दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा १५ दिने योग प्रशिक्षक प्रशिक्षण  तालिम सुरु

आइतबार, असार ७, २०८३

मसुरिया, ७ असार - दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–TOT) तालिम आइतबारदेखि सुरु भएको छ।

राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिका अध्यक्ष एवं योग प्रशिक्षक साहना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले योगले व्यक्तिको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगलाई समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि श्रेष्ठले योगलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा अपनाउनुपर्नेमा जोड दिँदै दक्ष प्रशिक्षक उत्पादनमार्फत योग अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने बताउनुभयो। उहाँले योगले विभिन्न रोगको रोकथाम, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

असार १५ दिनसम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागिता रहेको छ।

तालिममा योगका सैद्धान्तिक तथा व्यवहारिक पक्ष, विभिन्न योग अभ्यास, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

तालिमबाट स्थानीय तहमा दक्ष योग प्रशिक्षक उत्पादन भई समुदायमा योग संस्कृतिको विकास तथा आरोग्यमय जीवनशैली प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  २०:३६
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी