सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, १० असार – दाङकाे लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । ‘समृद्ध लमही, सक्षम नागरिक र सुशासित नगर’ भन्ने दीर्घकालीन सोचसहित नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न केन्द्रित नीति तथा कार्यक्रम अघि सारेको हो ।
१९ औँ नगरसभामा नगर प्रमुख जोगराज चौधरीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख लक्ष्मी योगीले बजेट वक्तव्य पेश गर्नुभयो । नगरपालिकाले पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ३१ करोड ९० लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १८ करोड ९ लाख ३३ हजार, सामाजिक विकासतर्फ १२ करोड २७ लाख ९३ हजार, आर्थिक विकासतर्फ ५ करोड ९२ लाख ६७ हजार तथा विपद् व्यवस्थापनतर्फ १ करोड १ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, डिजिटल बोर्ड तथा कम्प्युटर प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको छ । ‘हाम्रो विद्यालय–राम्रो विद्यालय, हाम्रो गौरव–सामुदायिक विद्यालय’ अभियान सञ्चालन गर्दै सामुदायिक शिक्षाप्रतिको विश्वास बढाउने लक्ष्य राखिएको छ । साथै पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गरिने भएको छ ।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस, इन्जिनियरिङ, कृषि तथा अन्य प्राविधिक विषय अध्ययनका लागि प्रतिस्पर्धात्मक छात्रवृत्ति उपलब्ध गराइने नीति पनि नगरपालिकाले ल्याएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ लमही अस्पतालको स्तरोन्नतिका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । अस्पतालमा फिजियोथेरापी तथा हाडजोर्नी विशेषज्ञ सेवा थप गरिनेछ भने सतबरिया र सोनपुर स्वास्थ्य केन्द्रमा प्रयोगशालासहित एमबीबीएस चिकित्सकबाट सेवा उपलब्ध गराइने भएको छ ।
‘आमासँग उपमेयर कार्यक्रम’लाई निरन्तरता दिँदै गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइने जनाइएको छ । यस्तै सिकलसेल एनिमिया, थालासेमिया तथा मिर्गौला रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत प्रमाणीकरण, नापजाँच तथा लालपुर्जा वितरणलाई तीव्रता दिने नीति लिइएको छ । ‘भूमिको अधिकार, सम्मानित जीवनको आधार’ अभियानमार्फत भूमि अधिकार सुनिश्चित गरिने नगरपालिकाको भनाइ छ ।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । किसान सूचिकरण कार्यक्रम सञ्चालन गरी किसान परिचयपत्र वितरण गरिनेछ भने उपयोगविहीन जमिनमा करार खेती तथा भूमि बैंक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पर्यावरण संरक्षणअन्तर्गत लमही–७ कप्तानगञ्जमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । साथै सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अधुरा तथा क्रमागत योजनालाई सम्पन्न गर्न २ करोड ३० लाख रुपैयाँ तथा भुक्तानी हुन बाँकी आयोजनाका लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रत्येक वडालाई १ करोड ६० लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ ।
नागरिकको प्रत्यक्ष सहभागिता र गुनासो सुनुवाइका लागि ‘जनतासँग मेयर’ तथा ‘जनतासँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यी कार्यक्रमका लागि १–१ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।