शान्तिनगर गाउँपालिकाले ल्यायो ५२ करोडभन्दा बढीको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई उच्च प्राथमिकता

बुधबार, असार १०, २०८३

दाङ,१० असार - दाङको शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि समृद्ध, आत्मनिर्भर र सुशासित गाउँपालिका निर्माणको लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा अध्यक्ष प्रमोद बस्नेतले वार्षिक नीति तथा कार्यक्रम तथा उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले बजेट प्रस्तुत गर्नु भएकाे थियाे

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई “जनताको विश्वास, विकासको आधार” भन्ने मूल मन्त्रमा आधारित बनाउँदै “शिक्षित, स्वस्थ, उत्पादनशील, प्रविधिमैत्री, वातावरणमैत्री र आत्मनिर्भर शान्तिनगर निर्माण” गर्ने दीर्घकालीन सोच अघि सारेको छ।

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा विशेष जोड

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, आधुनिक र व्यावसायिक कृषि, स्थानीय उत्पादन तथा उद्यमशीलता, डिजिटल सुशासन, पूर्वाधार विकास, महिला तथा युवाको सशक्तीकरण, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।

गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राख्दै स्मार्ट बोर्ड, डिजिटल शिक्षण प्रणाली, शिक्षक क्षमता विकास, छात्रवृत्ति, दिवा खाजा तथा स्थानीय पाठ्यक्रम कार्यान्वयनका कार्यक्रमलाई निरन्तरता दिएको छ। शिक्षा क्षेत्रका लागि मात्रै १७ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसअन्तर्गत विद्यालयमा स्मार्ट बोर्ड जडानका लागि १२ लाख, शिक्षक व्यवस्थापनका लागि १ करोड १७ लाख, विपन्न विद्यार्थी छात्रवृत्तिका लागि २६ लाख, दिवा खाजाका लागि ५५ लाख तथा अनुदान शिक्षक व्यवस्थापनका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य सेवा विस्तार र १५ शय्याको अस्पताल सञ्चालन

स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप अभियान, स्वास्थ्य स्वयंसेविका कार्यक्रम तथा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनलाई प्राथमिकता दिएको छ। आधारभूत स्वास्थ्य सेवा सुदृढीकरणका लागि १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

नीति तथा कार्यक्रममा १५ शय्याको अस्पताललाई आवश्यक जनशक्ति, उपकरण तथा विशेषज्ञ सेवासहित पूर्ण क्षमतामा सञ्चालन गर्ने, टेलिमेडिसिन सेवा विस्तार गर्ने तथा घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

कृषि आधुनिकीकरण र किसानमुखी कार्यक्रम

गाउँपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधारका रूपमा लिँदै उन्नत बीउ, कृषि यान्त्रीकरण, व्यावसायिक खेती तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम अघि सारेको छ। कृषि विकासका लागि ४५ लाख तथा पशुपालन विकासका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसका साथै किसान सूचीकरण, किसान सञ्जाल विस्तार, कृषि उत्पादन वृद्धि तथा बजारमुखी कृषि प्रणालीलाई प्राथमिकता दिइने नीति लिइएको छ।

युवा उद्यमशीलता र रोजगार सिर्जना

युवा तथा महिलालाई स्वरोजगार बनाउन उद्यम विकास, स्टार्टअप प्रवर्द्धन, सीप विकास तालिम तथा नयाँ लघु उद्यम सिर्जनाका कार्यक्रम सञ्चालन गरिने भएका छन्। उद्यम विकासका लागि ११ लाख तथा रोजगार प्रवर्द्धन र सीप विकास कार्यक्रमका लागि ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

नीति तथा कार्यक्रममा लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायत प्रतिस्पर्धात्मक परीक्षाको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था समेत गरिएको छ।

पूर्वाधार विकासमा ठूलो लगानी

पूर्वाधार विकासलाई समृद्धिको आधार मानेर गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी भलानेटी–सुन्दरादेवी मन्दिर सडक कालोपत्रे योजनाका लागि १ करोड १० लाख, विद्यालय भवन निर्माणका लागि २८ लाख तथा रातीपोखरी–विष्णुपुर–शान्तिनगर–५ स्वास्थ्य कार्यालय सडक स्तरोन्नतिका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

डिजिटल सुशासन र घरबाटै सेवा

गाउँपालिकाले आगामी वर्षलाई डिजिटल शासनको वर्षका रूपमा अघि बढाउँदै अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने, पेपरलेस कार्यालय प्रणाली लागू गर्ने, डिजिटल प्रोफाइल तयार गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप छरितो र पारदर्शी बनाउने नीति लिएको छ।

आन्तरिक राजस्व वृद्धि र वित्तीय अनुशासनमा जोड

गाउँपालिकाले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातामैत्री सेवा विस्तार गर्ने तथा राजस्वको दायरा बढाउँदै आन्तरिक आम्दानीलाई क्रमशः आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। बजेट कार्यान्वयनलाई पारदर्शी, नतिजामुखी र अनलाइन प्रणालीमा आधारित बनाइने नीति समेत अवलम्बन गरिएको छ।

शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, डिजिटल सुशासन र पूर्वाधार विकासलाई केन्द्रमा राखेको छ। स्थानीय उत्पादन वृद्धि, गुणस्तरीय सेवा प्रवाह, आत्मनिर्भर अर्थतन्त्र निर्माण र नागरिकमैत्री शासन प्रणालीमार्फत गाउँपालिकालाई समृद्धिको नयाँ चरणमा पुर्‍याउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।

नीति तथा कार्यक्रम  :

शान्तिनगर गाउँपालिका २०८३/०८४ बजेट

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार