दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवा गाउँपालिकाद्वारा ८२ करोड ६४ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक,कृषि, स्वास्थ्य र सडक प्राथमिकतामा

बिहीबार, असार ११, २०८३

गढवा,११ असार - गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८२ करोड ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्षले प्रस्तुत गरेको बजेट कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पूर्वाधार विकास तथा रोजगार सिर्जनालाई केन्द्रमा राखेर तयार गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।

कुल बजेटमध्ये आन्तरिक स्रोतबाट १८ करोड १३ लाख २८ हजार रुपैयाँ, संघीय सरकारबाट ५८ करोड ८२ लाख ६० हजार रुपैयाँ, प्रदेश सरकारबाट ४ करोड ५४ लाख ६६ हजार रुपैयाँ तथा सडक बोर्डबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको गढवा गाउँपालिका उपाध्यक्ष बजेट वक्तव्यमा प्रस्तुत गर्नु भएको हो।

बजेटमा चालु खर्च ६० दशमलव ६३ प्रतिशत र पूँजीगत खर्च ३९ दशमलव ३७ प्रतिशत रहेको छ। प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ११ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा तथा पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि उल्लेख्य रकम छुट्याइएको छ।

आर्थिक विकासतर्फ गढवा–३ सुपेला खोला नजिक निर्माणाधीन शीतभण्डार सम्पन्न गर्न २ करोड १४ लाख रुपैयाँ तथा खाद्य भण्डार भवन निर्माणका लागि ८६ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्न उन्नत बिउ, सिँचाइ, कृषि उपकरण, पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ।

स्वास्थ्यतर्फ निर्माणाधीन १५ शैयाको अस्पताल भवन सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ तथा अस्पताल सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। निःशुल्क औषधि वितरणका लागि ५६ लाख ७४ हजार रुपैयाँ छुट्याइएको छ। महिला स्वास्थ्य स्वयंसेविका, आमा सुरक्षा, पोषण, मानसिक स्वास्थ्य तथा विभिन्न रोग नियन्त्रण कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
शिक्षा क्षेत्रतर्फ दिवा खाजा कार्यक्रमका लागि १ करोड ६ लाख रुपैयाँ, विपन्न छात्रवृत्तिका लागि १९ लाख १८ हजार रुपैयाँ तथा छात्राहरूका लागि निःशुल्क सेनिटरी प्याड व्यवस्थापनमा १८ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ। बौद्धिक अपाङ्गता (अटिजम) भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गर्न २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

पूर्वाधार विकास अन्तर्गत डाँगागाउँ-महादेवा-घुम्रा-चिमचिमे सडक कालोपत्रे गर्न ५८ लाख रुपैयाँ, उढेवा-अर्गनडवा-घुसकपुरुवा सडक कालोपत्रेका लागि ६० लाख रुपैयाँ तथा कालाकाटे विद्यालयमा छात्रावास भवन निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। संघ, प्रदेश तथा अन्य निकायसँगको समपूरक साझेदारी कार्यक्रमका लागि २ करोड ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, कृषि तथा पर्यटन विकास, सामाजिक सुरक्षा, गुणस्तरीय पूर्वाधार निर्माण, डिजिटल तथा हरित अर्थतन्त्रको प्रवर्द्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सेवा प्रवाह सुधार तथा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई बजेटका प्रमुख प्राथमिकता बनाएको गाउँपालिका उपाध्यक्षले बजेट वक्तव्य मार्फत जानकारी दिनुभयो

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्