सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, १२ असार - दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटसहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन अन्तर्गत शुक्रबार बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार १० गते प्रस्तुत गर्नुभएको ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।
सभाले बलिराम चौधरीले पेश गर्नुभएको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन २०८३, विष्णु पोख्रेलले पेश गर्नुभएको विधायन समितिको प्रतिवेदन २०८३, उपाध्यक्ष कमलापति चौधरीले पेश गर्नुभएको योजना अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन २०८३ तथा न्यायिक समितिको प्रतिवेदन २०८३ समेत सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यसैगरी, राप्ती गाउँपालिकाको कर तथा राजस्व प्रशासन सम्बन्धी विधेयक, २०८३ पनि सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। उक्त विधेयकले गाउँपालिकाको राजस्व व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सभाका सदस्य देवप्रसाद चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण प्रतिवेदन पनि बैठकले पारित गरेको छ। साथै सदस्य सावित्री चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म कार्यपालिका बैठकबाट भएका निर्णयहरूलाई समेत गाउँसभाले अनुमोदन गरेको छ।
बजेट, प्रतिवेदन तथा विधेयकहरू सर्वसम्मत रूपमा पारित भएसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास निर्माण, सेवा प्रवाह, सुशासन प्रवर्द्धन तथा राजस्व व्यवस्थापनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने कानुनी तथा नीतिगत आधार तयार भएको जनाएको छ।