दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

देशभर मनसुन विस्तार हुँदै, कोशीमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

आइतबार, असार १४, २०८३

काठमाडौं, १४ असार – नेपालमा मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव पुगेको छ। बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर पनि मनसुन विस्तार हुने सम्भावना रहेको छ।

हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहे पनि देशका अधिकांश भागमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सतर्कता

महाशाखाले भारी वर्षा, चट्याङ तथा हुरीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न, नदी–खोला तथा बाढीपहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्रु तथा सवारी चालकलाई पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्